खेलकुद

धनगढीलाई हराउँदै चितवन एनएसएलको प्ले अफमा


काठमाडौं—धनगढी एफसीलाई ३ –१ ले हराउँदै एफसी चितवन नेपाल सुपर लिग (एनएसएल) को प्ले अफमा पुगेको छ । चितवन पहिलो पटक प्ले अफमा पुगेको हो। योसँगै प्ले अफ पुग्ने चार टिमको टुङ्गो लागेको छ । पहिलो क्वालिफायरमा गत संस्करणको दुई फाइनलिष्ट ललितपुर र धनगढी भिड्ने तय यसअघि नै भैसकेको छ।

एफसी चितवन र पोखरा थन्डर्सले पहिलो इलिमिनेटर खेल्ने समिकरण तय भएको छ। चितवन ३ जित १ बराबरी र २ हार सहित १० अंक बनाएर तेस्रो स्थानमा रहँदै प्ले अफमा पुगेको हो। पहिलो संस्करणमा चितवन लिगको पुछारमा रहेको थियो। गत सिजन नौ टिम सहभागी हुँदा सातौं भएको थियो। साबिक विजेता ललितपुर अपराजित रहँदै १२ अंकका साथ शीर्षस्थानमा रहयो। धनगढीले ११ अंकमा दोस्रो स्थानमा लिग पुरा गर्यो।

चौथो भएको पोखरा ८ अंक बनायो। काठमाडौंले पोखराले जतिकै ८ अंक बनाएपनि पोखरासँग गोल अन्तरले पछि पर्दै खेलबाट बाहिरियो। झापाले ५ अंक र बुटवल लुम्बिनीले १ अंक सहित तेस्रो संस्करण पुरा गरे। शनिबार ललितपुर र धनगढीबीच पहिलो खेल हुनेछ।

पहिलो इलिमिनेटर भने आइतबार हुनेछ। जहाँ पोखरा र चितवनबीच प्रतिस्पर्धा हुनेछ। यसैबीच, एनएसएल अवलोकन गर्न आउने भनीएका ब्राजिलियन लेजेण्ड रोबर्टो कार्लोसको भ्रमण स्थगित भएको आयोजक एनएसइएमले जनाएको छ ।