Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

अन्तर्राष्ट्रिय

चीन–अमेरिका : पूर्णस्तरमै सुरु भयो व्यापार युद्ध


संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पलेचिनिया सामानमा लगाएको अस्वभाविक करका कारण दुई देशबीचको व्यापार युद्ध थप चर्किंदै गएको छ । चीनले पनि अमेरिकी सामानमाथि प्रतिशोधात्मक आयात कर बढाउँदा विश्वकै अर्थतन्त्र प्रभावित हुन थालेको छ ।

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनिया सामानको आयातमा १४५ प्रतिशतसम्म कर लगाएसँगै दुई देशबीच पूर्णस्तरको ‘व्यापार युद्ध’ सुरु भएको छ ।चीनले अमेरिकासँग नझुक्ने र अन्तिमसम्म लड्ने बताउँदै अमेरिकी सामान आयातमा कडाइ गर्न थालेको छ । विश्वका दुई ठुला अर्थतन्त्र भएका मुलुकबीचको व्यापार युद्धका कारण विश्व अर्थतन्त्रमैप्रत्यक्ष प्रभाव देखिन थालेको छ । चीन र अमेरिकाबीचको व्यापार युद्ध चर्किंदै जाँदा चीनले दुर्लभ खनिज र चुम्बकको निर्यात अस्थायी रूपमा रोकेको छ ।

जसले अमेरिकी एयरस्पेस, सेमिकन्डक्टर, इलेक्ट्रोनिक्स, उपभोक्ता सामग्री, हतियार निर्माण र अटो उद्योगमा गम्भीर असर पार्ने देखिएको छ। चीनले निर्यात गर्दै आएको वस्तुमा रोक लगाउँदा अमेरिका दबाबमा परेको छ । चीनले अमेरिकी राष्ट्रपति ट्रम्पले लगाएको पारस्परिक भन्सार शुल्कको जवाफस्वरूप यस्तो निर्यात नियन्त्रण गरेको हो। यसले अमेरिकी उत्पादकहरूलाई अनुमति प्रणालीसँग जुझ्न बाध्य बनाएको छ।

यो निर्णयले दुई विश्वशक्तिहरू बीचको व्यापार तनाव अझ चर्काएको छ । चीनले विश्वका करिब ९० प्रतिशत दुर्लभ खनिज उत्पादन गर्दछ। यी खनिजहरू विशेषगरी रक्षा, विद्युतीय सवारी साधन, ऊर्जा र उच्च प्रविधि उद्योगमा प्रयोग गरिन्छ। अमेरिकासँगै युरोप र जापान पनि यस आपूर्तिमा भर पर्दै आएका छन्।चीनमा यी खनिजहरू प्रशोधन गर्ने जटिल र प्रदूषणयुक्त प्रक्रिया लगभग पूर्णरूपमा नियन्त्रणमा छ। चीनले कोटा प्रणालीमार्फत निर्यात नियन्त्रण गर्दै आएको छ, जसमा अहिले झनै कडाइ गरिएको छ।

हनीवेल, लकहिड मार्टिन, टेस्ला र एप्पल जस्ता ठूला अमेरिकी कम्पनीहरू यस्ता खनिजमा निर्भर छन्। यस नियन्त्रणले ती कम्पनीहरूको उत्पादन प्रक्रियामा असर पार्ने देखिएको छ।
अमेरिकी करका कारण संसारभरि सेयर बजारमा पहिरो, आर्थिक मन्दी उत्पन्न हुने खतरा बढेको छ । चीनले जवाफी कर लगाएपछि अमेरिकी सेयर बजार कोभिडयताकै खराब अवस्थामा गुज्रिन थालेको छ। अमेरिकाले चिनिया आयातमा लगाएको करको असर एपलको सेयरमा परेको छ ।एक महिनामा यो कम्पनीको सेयर मूल्यमा २० प्रतिशतले गिरावट आएको छ।दुई ठुला देशहरुको जुधाइका कारण तामा, लिथियम र ‘रेअर अर्थ’ धातुजस्ता उद्योगहरूका लागि चाहिने महत्त्वपूर्ण पदार्थको प्रशोधनमा चीनले अमेरिका जाने बाटोमा अवरोध सिर्जना गर्ने देखिन्छ ।अर्कोतर्फ अमेरिकाले चीनमाथि आर्टिफिसल इन्टेलिजेन्सजस्ता प्रविधिका लागि अत्यावश्यक अत्याधुनिक माइक्रोचिप्सहरूमा ‘प्राविधिक नाकाबन्दी’ लगाउने तयारी थालेको छ ।यता कम्बोडिया, मेक्सिको र भियतनामजस्ता देशहरूलाई अमेरिकाले आफ्नो देशमा निर्यात जारी राख्नका लागि चीनसँग व्यापार गर्न नहुने सर्त राखेर दबाव दिन थालेको छ ।

अमेरिका र चीन दुवै देशले वैश्विक अर्थतन्त्रको ठूलो भाग ओगटेका छन्। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)का अनुसार दुवै देशको जोड्दा त्यो विश्वको अर्थतन्त्रको ४३ प्रतिशत हुन्छ।यदि दुवै देश पूर्ण स्तरको व्यापार युद्धमा होमिए भने त्यसले उनीहरूको आर्थिक वृद्धि सुस्त गर्ने छ भने आर्थिक मन्दी निम्त्याउन सक्नेछ । त्यसले अरू देशहरूको अर्थतन्त्रलाई पनि असर गर्नुका साथै विश्वकै आर्थिक वृद्धि सुस्त बनाउने छ । त्यसको असर विश्वस्तरका लगानीमा पर्न सक्छ। अनि अरू पनि सम्भावित परिणामहरू हुन सक्ने आकलन भइरहेको छ । ट्रम्पको आयात शुल्कको विश्वव्यापी प्रभाव र मारमा अमेरिकी साझेदारदेखि साना देशसम्म पर्ने निश्चित छ ।चीन र अमेरिकाबीच हुने ‘व्यापार युद्ध’को बाछिटा विश्वभरि नै पर्ने भएकाले विश्वलाई नै यसकोनकारात्मक असर पर्ने अधिकांश अर्थशास्त्रीहरूको विश्लेषण छ ।