चैत १५ गतेको हिंसात्मक तीनकुुने घटनाको त्रास ताजै रहेका बेला राजा फर्काउने अर्को आन्दोलन हुँदैछ । तर, अराजक कमान्डर दुर्गा प्रसाईं फरार रहँदा यो आन्दोलनको नेतृत्व भने राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले गरेका छन् । उनलाई राजा फर्काउन बनाइएको जनआन्दोलन समितिले समेत समर्थन गरेको छ । तर, तीनकुने तबाहीले राजावादी पनि अराजक हुने रहेछन् भन्ने भाष्य निर्माण गर्दा दुर्गाका समर्थक बिनाको आन्दोलन भव्य हुन सक्ला ? भन्ने जिज्ञासा कायमै छ ।
राजावादीका यी हर्कतहरुलाई राज्यले समेत संविधान र व्यवस्था विरोधी अराजक गतिविधि भएको दाबी गर्दा राज्य दमनको समेत उत्तिकै तारो राजावादी बनेका छन् । यस्तो अवस्थामा प्रसाईं बाहेकका सबै समूह र पार्टी भने आन्दोलनलाई उग्रता वा उत्तेजनाभन्दा भव्यताका साथ सम्पन्न गर्ने रणनीतिमा छन् ।
तर, बाँकेमा भने हिरासतमा रहेका नेताहरुको रिहाइको माग गर्दै कोहलपुर बन्दको घोषणा गरिएको छ । यसअघि राप्रपाकै कार्यकर्ताले स्व.वीपी कोइरालाको शालिकमा मोसो दल्नेदेखि बोरा ओढाउनेसम्मका गतिविधि गरेको आरोप लागेपछि आफैँ माफी माग्नुपरेको थियो । यद्यपि उक्त घटनालाई अतिरञ्जित गरी प्रचार गरिएको भन्दै राप्रपाले खण्डनसमेत गरेको थियो । यता राप्रपाले मंगलबार गर्ने भनेको आन्दोलनलाई निर्णायक कदमको सुरुवात भनको छ ।
तर, राज्यले भने उनीहरुको आन्दोलनमा सुरुवातमै हस्ताक्षेपको प्रयास गरेको छ । १५ गते काठमाडौं प्रशासनले दुई समूहको आन्दोलन रहेको संवेदनशील समयमै समाजवादी मोर्चालाई भृकुटीमण्डपमा भेला गर्न दिएको थियो । त्यसपछि राप्रपाले समेत भृकुटीमण्डपमै अनुमति मागेको थियो । तर, पूर्वनिर्धारित कार्यक्रम भइरहेको भन्दै सिफल वा बल्खुमध्ये एक क्षेत्र रोज्न प्रशासनले भनेको छ ।
जबकि शिक्षक आन्दोलन लगायत धरैजसो आन्दोलन भृकुटीमण्डपमा नभई माइतीघरमा भइरहेका छन् । प्रशासनले भृकुटीमण्डपमा प्रदर्शन गर्न नदिने भएपछि राप्रपाले भने बल्खु क्षेत्र चुनेको छ । यही क्षेत्रमा गतवर्ष दुर्गा प्रसाईंले पनि लघुवित्त पीडित उतारेका थिए । राप्रपाको यो आन्दोलन राजा फर्काउने कारणले मात्र आयोजना गरिएको होइन । हिरासतमा रहेका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणाको भविष्यमा समेत निहित छ । किनकि शान्तिपूर्ण आन्दोलन भए उनीहरुको रिहाइका लागि राप्रपाको एजेण्डा बन्न सक्छ भने फेरि अराजकता देखाए राज्य थप कठोर बन्नेमा दुईमत छैन ।
तीनकुुनेको तबाहीले पूर्वराजा ज्ञानेन्द्र शाह नै निसानामा पर्नुु र घटनाको जिम्मेवार उनलाई नै ठह¥याउने लगायत कारण निर्मल निवासमा हिलो नछ्यापी आन्दोलन गर्नुपर्ने दवावमा लिङ्देन छन् । अर्कोतर्फ पूर्वराजाले अझैपनि लिङ्देनलाई खुलेर समर्थन गरिसकेको विषय बाहिरिएका छैनन् । तर, दुर्गा प्रसाईंका अराजक हर्कतले भने क्षति पु¥याइरहेको विश्लेषणमा निर्मल निवास छ । यस्तो अवस्थामा सम्भवतः लिङदेनका लागि समेत यो आन्दोलन निर्मल निवासको आशीर्वाद पाउन निर्णायक बन्नसक्ने भएकाले सुझबुझपूर्ण कदम चाल्नुपर्ने चुनौतीमा लिङ्देन पनि छन् ।
राप्रपा मात्र नभई प्रहरी पनि उत्तिकै दबाबमा छ । तीनकुने आन्दोलनका क्रममा गोली लागेका २० जनाको अपनत्व कसैले लिन सकेका छैनन् । सरकारले निःशुल्क उपचार गर्ने भने पनि आफ्नै खर्चमा बिल तिर्नुपर्ने बाध्यतामा घाइतेहरु छन् । जडिबुटी कारखानामा २० करोडभन्दा बढीको क्षति, तीनकुनेस्थित निजी घरमा त्यतिकै मात्रामा क्षति हुँदा क्षतिपूर्ति दिन न सरकार तयार छ न आन्दोलनकारी । बरु दुई नागरिकको ज्यान गएको छ । विद्यालय तथा कामबाट फर्किरहेका बेला आन्दोलनसँग सरोकार नै नभएका व्यक्तिहरुलाई समेत गोली लागेको छ । जनधन जोगाउन गोली चलाएको बताउने प्रहरीले जन र धन दुबै जोगाउन नसक्दा उल्टै आफ्ना गल्ती लुकाउन अग्रसर छ । जसले गर्दा प्रहरी र राप्रपा दुवै उत्तिकै चेपुवामा छन् ।
प्रतिक्रिया