२०८४ सालसम्म प्रतिपक्षमै बसेर बलियो शक्तिका रुपमा उदाउने माओवादीको प्रतिबद्धता एक महिनामै खण्डित भएको छ । एमाले र कांग्रेससँग पालैपालो मिल्दा पार्टी नै रोगी भएको निष्कर्ष निकालेको माओवादी र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फेरि तिनै पार्टी मिलाएर सरकारमा जाने तुरुप खेलिरहेका छन् ।
माओवादीको जनता सम्झने अभियान प्रचण्डको फुर्सदको सदुपयोगबाहेक केही होइन । यो आरोप होइन स्वयं प्रचण्डले नै पुष्टि गरेको तथ्य हो । गत असारमा सरकारबाट बाहिरिएपछि प्रचण्डले जनतामा जाने निर्णय गरे । फागनुबाट जागरण अभियान सुरु पनि गरे ।
तर, राजावादीको मुद्दा मिलेपछि एकाएक काठमाडौं फर्किए, अभियान रोकियो । केही समय सरकार परिवर्तनको पनि प्रयास गरे । हुन त ओली सरकार बनेकै दिनदेखि प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री अफर नगरेका होइनन् । तर, चौतर्फी असन्तुष्टिको आगो बलेका बेला भइहाल्छ कि भन्ने सोचेर देउवालाई निसर्त प्रधानमन्त्री बनाउने ब्ल्यांक चेक दिए । नयाँ वर्षसँगै सरकार पनि नयाँ बन्नेसम्म दाबी गरे ।
जनताका मुद्दा भाडमा हालेर माहोलअनुसार रङ फोर्ने उनको प्रवृत्ति फेरि एकपटक उदांगिएको छ । यहाँ बोलीरहेका प्रचण्ड तिनै हुन् । जसले एक महिनाअघि मात्र भनेका थिए– ‘कांग्रेस एमालेसँग पटक पटक मिलेर हामीलाई घाटा भयो । उनीहरुको रोग हामीमा पनि स¥यो । अब हामी सुध्रियौँ । ०८४ सम्म कुनैपनि हालतमा कांग्रेस एमालेको पछि लाग्दैनौँ ।’
प्रचण्डले देउवालाई नयाँ सरकार बनाउनेबारे कुरा गर्न भेट्न पनि चाहेका थिए । तर, वचनका पक्का देउवाले भनिदिएछन्– ‘हिजो तपाईंसँग सरकारमा रहँदा ओलीसँग भेटिनँ । अहिले ओलीसँग सरकारमा छु तपाईंसँग भेट्दिनँ ।’
अब सरकारमा जाने सपनामा पानी खन्याएपछि प्रचण्ड फेरि जनतातिरै फर्किएका छन् । र नवलपुर पुगेर फेरि जागरण अभियान सुरु गरेका छन् । अब सिधैँ सरकार फेर्ने लबिङ गर्ने उनको बाटो त सकिएको छ । तर, ‘यो सरकार धेरै दिन टिक्दैन’ भन्न चाहिँ छाडेका छैनन् ।
भलै प्रचण्डको यो अभिव्यक्ति, राजनीतिक संयन्त्रका प्रमुख एक सदस्य एवं कांग्रेस महामन्त्री गगन थापाको असन्तुष्टि र त्यसमा देउवाको पनि समर्थनले एमाले सशंकित नभएको भने होइन । अहिले पनि एमाले नेताहरु देउवाले नचाहेसम्म यो सरकार ढल्न नसक्ने भन्दै मिलाउन खोजिरहेका छन् । प्रचण्डको सरकार ढाल्ने सपना असफल पार्न कसरत चलेकै छ ।
यहीबेला प्रधानमन्त्री ओलीले पनि लचकता देखाएका छन् । सरकार नै नढल्ने भए पनि काम गराइको ढंग नपुगेको भन्दै गगनले पनि काँध हाल्ने सिग्नल दिएपछि कांग्रेस र एमाले आन्तरिक समीक्षामा जुटेका छन् । ओली मन्त्रीप्रति असन्तुष्ट रहने र कांग्रेस प्रधानमन्त्रीसँगै असन्तुष्ट रहने अवस्था आउँदा संयन्त्रको बैठकमै निर्णायक समीक्षा गर्न तयार भएका हुन् । यसले सरकार ढल्ने खड्गो तत्कालका लागि टर्न सक्छ । अर्कोतर्फ कांग्रेस अझै पनि माओवादीको चरित्रमा विश्वास गर्न तयार छैन ।
किनकि २०७९ पुस १० गते खाना खान जाने भन्दै देउवालाई ढाँटेर प्रचण्ड ओलीसँग मिल्न पुगे । कृष्ण सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउँछु भन्दाभन्दै आफ्ना भाइ नारायणप्रसाद दाहाललाई हुलेर २०८० फागुनमा एमालेसँग मिलेर दोस्रोपटक कांग्रेसलाई धोका दिए । जहाँ माहोल बन्यो त्यतै लम्किने प्रचण्डका यस्ता प्रवृत्तिमा कांग्रेस अझै भरोसा गर्न र निर्धक्क भइहाल्ने अवस्था देखिँदैन ।
यो बीचमा प्रचण्डले कहिले आफैँ त कहिले माधव नेपालमार्फत देउवालाई प्रधानमन्त्री मानेर नयाँ सरकार परिवर्तन गराउने प्रयास गरे । जबकि कार्यकर्तामाझ कांग्रेस–एमालेसँग ०८४ अघि नमिल्ने बखान गरिरहेकै समय उनले ८४ पटकभन्दा बढी सरकार ढाल्ने प्रयत्न गरेका थिए । तर, कुलमान घिसिङको बर्खास्तीविरुद्धको मुद्दा सेलायो । रवि लामिछाने, अध्यादेशजस्ता विषयमा ओलीसामु प्रचण्ड आफैँ चिसो पानीले नै नुहाउन बाध्य बने । अब अहिले सरकार ढाल्ने प्रचण्डको मृगतृष्णा पनि चिसै पानीमा पौडी खेल्नुपर्ने अवस्था बन्ने सिनारियो बन्दैछ ।
प्रतिक्रिया