राजनीति

काठमाडौंमा विहानैदेखि मापसे र लापसे चेकिङ : सवारी साधन दिनभरि होल्ड, लागूऔषध भेटिए थप कारबाही


काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी विनोद घिमिरेका अनुसार आज मादक पदर्थ सेवनकर्ता (मापसे) भन्दा लागु औषध सेवनकर्ता (लापसे) बाट हुने दुर्घटनालाई बढी ध्यान दिइने भएको छ । उनका अनुसार त्यस्ता सवारी चालक फेला परेमा आफन्तको जिम्मा लगाइने र सवारी साधन दिनभरि चलाउन नपाइने गरी नियन्त्रणमा लिइने (होल्ड गरिने) भएको छ ।

‘चिट काटेर जरिवाना लिने हैन, आज त सवारी साधन नै राख्छौं’, उनले भने । उपत्यकाका विभिन्न स्थानमा त्यस्ता चालकले चलाउने सवारी साधन राख्नका लागि ठाउँ बनाइएको उनले बताए ।

ट्राफिक प्रहरी विहान ७ बजेदेखि नै ड्युटीस्थलमा पुगिसकेको, तर चेकिङको क्रम १०-११ बजेदेखि थालिने उनले बताए । ट्राफिक प्रहरीको चेकिङ टोलीले उपत्यकाका विभिन्न स्थानबाट आज विहानै केही लागुपदार्थ सेवनकर्ताका सवारी साधन नियन्त्रणमा लिइसकेको छ ।

ट्राफिकले उपत्यकाका तीनै जिल्ला प्रहरी परिसरसँग समन्वय गरेर चेकिङ टोली खटाएको छ ।