राजनीति

ओलीको दूत बनेर आरजु भारतमा,विदेश घुमेरै बिताउँदै कार्यकाल


वर्तमान कांग्रेस एमाले गठबन्धनको सरकारलाई भारतले भाउ नदिँदा अब सरकारको आयु कति भन्ने बहस नेपाली राजनीतिमा फेरि चर्चामा छ । प्रधानमन्त्री केपी शर्मा ओलीका दूतका रुपमा बारम्बार भारत पुगेकी परराष्ट्रमन्त्री आरजु राणा देउवा सोमबार पुनः भारत प्रस्थान गरेकी छन् । यही छेको पारेर प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारीका लागि आन्तरिक योजना बुनिएको देखिन्छ । यस पटकको आरजुको भारत भ्रमण कति प्रभावकारी होला त?

दुई तिहाइको बहुमत प्राप्त बलियो तर निरीह सरकारको रुपमा वर्तमान ओली नेतृत्वको कांग्रेस–एमाले गठबन्धन देखिएको छ । सरकार बनेको करिब ८ महिना पुगिसक्दा समेत सरकारले न त देशमा चर्चा गर्न लायक काम गरेको छ न त छिमेकी मुलुकसंगको सम्बन्ध नै सुमधुर बनाएको छ ।दक्षिणी छिमेकी भारतले केपी शर्मा ओली नेतृत्वको सरकारलाई सहज रुपमा स्वीकार्न सकेको देखिँदैन ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न देशहरुको भ्रमणमा निस्कदा छिमेकी मुलुक नेपाललाई छड्के नजरलेसमेत हेरेका छैनन् । प्रधानमन्त्री ओलीले हदैसम्मको प्रयास गर्दा पनि भारतले उनलाई भ्रमणको निम्तो दिन चाहेको छैन । जसले वर्तमान सरकारको हैसियत घाम झै छर्लङ्ग बनाएको छ । छिमेकी तथा विदेशी मुलुकहरुसँगको सम्बन्धलाई प्रभावकारी र सुमधुर बनाउने जिम्मेवारीमा रहेको परराष्ट्र मन्त्रालय सम्हालीरहेकीडा. आरजु राणा देउवाले सुरुवाती दिनहरुमा केही सक्रियता देखाए पनि पछिल्लो समय उनीविदेश भ्रमणमै रमाइरहेकी देखिन्छिन् । देशभित्र भन्दा विदेशमा उनले बढी समय बिताइरहेकी छन् । यसक्रममा उनले प्रोटोकलको समेत ख्याल गरेको देखिँदैन । प्रधानमन्त्री ओलीको दूतका रुपमा बारम्बार भारत धाइरहेकी उनले प्रधानमन्त्रीको भ्रमणको निम्तोका लागि बिन्ती टक्र्याउँदा समेत मोदीले कुनै भाउ दिएको देखिँदैन ।

परराष्ट्रमन्त्रीको हैसियतमा भारतको पहिलो भ्रमण सकेर स्वदेश फर्किएको केही दिनको अन्तरालमा दुई पटक बेइजिङ पुगिन् ।प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा बीआरआई सम्झौता गराएपछि आरजुलाई चतुर कूटनीतिक क्षमता भएको भनेरचौतर्फी चर्चा समेत भयो । तर युरोप भ्रमणमा गएर सेमिनार, सम्मेलनमा सहभागी भएपछि निमन्त्रणा बिनै नयाँदिल्ली पुग्दा भारत सरकारका तर्फबाट सामान्य कर्मचारीले समेत भेट नदिँदा उनले आफू कहाँसम्म झरिसकेको छु भन्ने बल्ल पत्तो पाइन् ।विगतमा एनजीओकर्मी भएर विदेश दौडाहा गर्ने बानी परेकी आरजु परराष्ट्रमन्त्री भएपछि पनि उनको कार्यशैली फेरिएको छैन ।

देशको परराष्ट्रमन्त्री हुँदा पनि एनजीओकर्मीकै शैलीमा विभिन्न सेमिनार र सम्मेलनमा भाग लिन भन्दै विदेश दौडाहामा उनी रमाउँदा सिंगो देशकै नाम बदनाम हुने हो कि भन्ने शंशय पैदा गरेको छ । तर, पछिल्लो दिल्ली दौडमा आरजुको कथित कूटनीतिक चार्तुयता यथार्थमा कूटनीतिक अल्लारेपनमा परिणत भइसकेको छ । यसले छिमेकी देशहरुको नेपालसंगको सम्बन्ध बिग्रदो क्रममा देखिन्छ । सत्तारुढ दलकै नेताहरु पनि दुई छिमेकी मुलुकसंग अहंकार र घमण्डले नभई सहिष्णुता र सहकार्यबाट अगाडि बढ्नु पर्ने तर्क गर्छन् ।

प्रधानमन्त्री ओलीको भारत भ्रमणको साइत जुराउन यसपटक पनि परराष्ट्र मन्त्री आरजु देउवाउपचार र सेमिनारको बहानामा राजनीतिक भेटका लागि गत सोमवार दिल्ली पुगेकी छन् । राणा भारतको विदेश मन्त्रालयले मार्च १७ देखि नयाँ दिल्लीमा आयोजना गर्ने राइसिना डायलगमा सहभागी हुने बताइएको छ । भारत सरकारको निमन्त्रणामा उक्त डायलगमा मन्त्री राणासहित विश्वका विभिन्न देशका प्रधानमन्त्री तथा विदेशमन्त्री सहभागी हुने जनाइएको छ । यही समयको मौका छोपेर प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारीका लागि आन्तरिक योजना बुनिएको देखिन्छ ।गत पुस ४ गते एमाले उपमहासचिवसमेत रहेका पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पनिदिल्ली पुगेका थिए । उनी ओलीको अघोषित दूतका रुपमा त्यहाँ पुगेको देखिन्छ ।

भारतसँग सम्बन्ध सुमधुर बनाउने र चाँडै भ्रमणको वातावरण तयार गर्ने प्रयास ज्ञवालीबाट भएपनि उक्त प्रयास निरर्थक साबित भएको छ । यी घटनाक्रमसँगै सरकार परिवर्तनको हल्ला पनि बजारमा खुबै पिटिएका छन् । प्रधानमन्त्री ओली स्वयं पनि अत्तालिएको उनका हर्कत र अभिव्यक्तिले देखाउँछ । ओलीको चिनियाँ कार्ड र भारतकार्डको रणनीति काम लाग्दैन भन्ने भारत र चीनका उच्चअधिकारीहरुको बाक्लिएको भेटले पनि प्रस्ट पारिसकेको छ । यसले ओली सरकार बहुमतको बलमा मात्र धेरै दिन टिक्न नसक्ने विश्लेषण भइरहेको छ ।तरप्रधानमन्त्री ओली भने हाल पनि कसैसँग नझुकी देश विकासमा सबै नेपाली एक भएर लागे त्यो सम्भव भएको रटान लगाइरहेका छन् ।

भारत र चीनबीचको द्वन्द्वको फाइदा उठाएर तेस्रो शक्तिले खेल्दा श्रीलंका, पाकिस्तान हुँदै बङ्गलादेशमा राजनीतिक अस्थिरता मात्र भएन कि अर्थतन्त्र नै डामाडोल छ । दोहोरो अंकको आर्थिक वृद्धि हासिल गरिरहेको बङ्गलादेश लोडसेडिङले आक्रान्त बनेको छ । यसका साथै गृहयुद्धको खतरामा छ ।नेपालमा पनि भारत र चीन टकरावमा खेल्ने शक्ति जब जब हाबी हुन्छ तब तब देश अस्थिरता र अराजकतातर्फ बढेको इतिहास छ ।त्यसैले विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएका भारत र चीनको बीचमा रहेको नेपालका नेताले यी दुई देशको बेमेल र द्वन्द्वमा लाभ लिन खोज्नु अपरिपक्वता हुने विज्ञको टिप्पणी छ । कहिले भारतलाई चिढ्याउने र कहिले चीनलाई चिढ्याउने कार्ड नेपालका लागि खतरनाक हो । नेपाल र नेपालीको हित चाहने नेता भनेको बलिया दुई छिमेकीको मेलमिलाप र हातेमालोबाटै लाभ लिन सक्ने खुबीको हुन आवश्यक देखिन्छ । जुन भुमिका वर्तमान सरकारले खेलेको देखिदैन् ।