उत्तर कोरियाले सोमबार ‘धेरै अपरिचित ब्यालेस्टिक मिसाइलहरू’ प्रहार गरेको दक्षिण कोरियाको सेनाले दाबी गरेको छ । सोही दिन सियोल र वासिङ्टनले फ्रिडम सिल्ड नामक प्रमुख वार्षिक संयुक्त सैन्य अभ्यास सुरु गरेका थिए ।
उत्तर कोरियाका लागि क्षेप्यास्त्र प्रक्षेपण कुनै नौलो विषय होइन । तर उत्तर कोरियाले असामान्य तरिकाले गरिरहेको एकपछि अर्को क्षेप्यास्त्र प्रक्षेपणले छिमेकी तथा विपक्षी मुलुकलाई झनै चिन्तित बनाएको छ । आर्थिक र खाद्य संकटबाट गुज्रिरहेको उत्तर कोरियामा त्यहाँका शासक किम जोङ उनले देशको आर्थिक अवस्था सुधारमा केन्द्रित हुने बताएका थिए । तर किमको बोली र व्यवहारमा फरक देखिएको छ ।
पछिल्लो समय डोनाल्ड ट्रम्पको आगमनसंगै पुनः मिसाइल प्रहार गरेका छन् । दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैन्य अभ्यास सुरू गरेको केही घण्टामा उत्तर कोरियाले समुद्रमा केही ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको हो । दुई देशबीचको सैन्य अभ्यासलाई उत्तर कोरियाले आक्रमणको पूर्वाभ्यासको रूपमा हेर्ने गरेको छ । यो उत्तर कोरियाले यस वर्ष प्रहार गरेको पाँचौं क्षेप्यास्त्र हो ।
उत्तर कोरियाको ह्वाङ्घाई प्रान्तबाट सोमबार क्षेप्यास्त्रहरू प्रहार गरिएको दक्षिण कोरियाको सेनाले दाबी गरेको छ ।
तर ती क्षेप्यास्त्र कति टाढासम्म उडेका थिए भन्ने प्रष्ट नभएको दक्षिण कोरियाली अधिकारीहरूले जनाएका छन् । दक्षिण कोरियाको जोइन्ट चिफ अफ स्टाफले निगरानी स्थितिलाई बलियो बनाएको र अमेरिकासँग नजिकबाट समन्वय गरिरहेको बताएको छ । दक्षिण कोरिया र अमेरिकी सेनाले सोमबार सुरू गरेको अभ्यास ११ जुनसम्म चल्ने तालिका छ । आणविक हतियार सम्पन्न उत्तर कोरियाले दुई देशको संयुक्त सैन्य अभ्यासको निन्दा गरेको छ ।
उक्त अभ्यास ‘खतरनाक र उत्तेजक कार्य’ भएको र ‘यसले सैन्य द्वन्द्वको जोखिम बढाउने’ उत्तर कोरियाको भनाइ छ । गत साता दक्षिण कोरियाली दुई लडाकु जेटले आवासीय क्षेत्रमा गल्तीले बमबारी गरेका थिए । त्यसबारे अनुसन्धान भइरहेको दक्षिण कोरियाली अधिकारीहरूले जनाएका छन् । उक्त घटनापछि दुई देशका सेनाले प्रत्यक्ष–गोलीबारी तालिम स्थगित गरेर ‘फ्रिडम शिल्ड कमाण्ड पोस्ट’ अभ्यास सुरू गरेका हुन् ।
बिहीबार उत्तर कोरियाली सीमा नजिकैको सहर पोचियोनमा दुई दक्षिण कोरियाली ‘केएफ–१६’ लडाकु जेटहरूले गल्तीले आठवटा ‘एमके–८२’ बम प्रहार गर्दा करिब ३० जना घाइते भएका थिए । तीमध्ये दुई जना गम्भीर छन् । घटनाबारे दक्षिण कोरियाली वायुसेनाले सोमबार पत्रकारहरूलाई जनाएअनुसार आफ्नो प्रारम्भिक मूल्यांकनमा ‘केएफ–१६’ का पाइलटहरूमध्ये एकले बम विस्फोट स्थलका लागि गलत निर्देशांकहरूमा प्रवेश गरेको देखिएको छ ।
यो घटनाले दुई देशबीच पुनः संकट उत्पन्न गर्न सक्ने विष्लेषण भइरहेको छ । उत्तर कोरियाले मिसाइल परीक्षणलाई निरन्तरता दिँदा दक्षिण कोरियाले दबाब महसुस गर्दै आएको छ भने दक्षिण कोरियालाई अमेरिकाले साथ दिँदै आएको छ । यस्तो अवस्थामा भइरहेको संयुक्त सैन्य अभ्यासले दुई देशबीचको तनाव थप बढ्ने देखिएको छ ।
०००
प्रतिक्रिया