राजनीति

पूर्वराजाको रापतापले डरायो सदन, ज्ञानेन्द्रविरुद्ध एकढिक्का


आजको प्रतिनिधिसभाको बैठकमा पूर्वराजा ज्ञानेन्द्र शाहको विषयले ठूलै स्थान पायो । सदनमा राप्रपाका सांसदहरुले राजतन्त्रको पक्षमा आवाज उठाउँदा गणतन्त्र पक्षधर दलका सांसदहरुले तीव्र आलोचना गर्दै लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने जिकिर गरे ।

मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा पूर्वराजाको विषयले प्राथमिकता पायो । प्रतिपक्षी दलको नेताको हैसियतले सदनलाई सम्बोधन गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि शून्य, आकस्मिक र विशेष समयमा बोल्ने अधिकांश सांसदहरूले राजतन्त्र र पूर्वराजाकै विषयमा आफ्नो धारणा राखे । बैठकमा प्रचण्डले सत्तारुढ र सरकारकै कारण मुलुकमा प्रतिगामी र राजावादीहरुको चलखेल भइरहेको दाबी गरे । उनले जनतामासमेत असन्तुष्टि बढ्दै गएको बताए । दलका सांसद्देखि स्वतन्त्रबाट निर्वाचित भएका सांसदहरूले खुलेरै यस विषयमा धारणा राखे । कांग्रेस महामन्त्री गगन थापाले सबै मिलेर ल्याएको संविधान र व्यवस्था जोगाउन उत्तिकै प्रतिबद्ध रहेको भन्दै कांग्रेस संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा पुग्नु कुनै एक घटना मात्र कारण नरहेको बताए ।

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संविधानको धारा १ मा संविधानको पालना प्रत्येक नागरिकले गर्नुपर्ने लेखिए पनि पूर्वराजा शाह र उनका समर्थकहरूले संविधान विपरीत कार्य गरेकोमा आपत्ति जनाए । उनले पूर्वराजा शाहको प्रत्यक्ष सहभागिता र उक्साहटमा संविधानविपरीतका कामहरू भइरहेकाले सरकारले त्यसलाई नियन्त्रण गर्नुपर्ने माग राखे ।

अर्का एमाले सांसद गोकर्ण विष्टले लोकतन्त्र नचाहने शक्तिहरूले पूर्वराजा फर्काउने प्रयास गरिरहेको भन्दै लोकतन्त्र पक्षधरबीच सहकार्य र हातेमालो गर्न जरुरी रहेको बताए । सदनमा बिरलै बोल्ने गरेका विष्टले पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डले सरकार बिचौलियाले चलाएको भन्ने आरोपको खण्डन गरे । विगतमा त्यस्ता प्रवृत्तिका व्यक्तिसँग उठबस गर्ने गरेकैले प्रचण्डलाई यस्तो भान परेको हो कि भन्दै उनले आशंका व्यक्त गरे । प्रचण्डले अत्यन्तै अमर्यादित र गैरजिम्मेवार अभिव्यक्ति दिएको बताउँदे उनले प्रश्न गरे, ‘सर्पले सर्पको खुट्टा देख्छ भने झै उहाँलाई पनि त्यस्तै दृष्य देख्ने बानी परेको हो कि ?’

त्यस्तै अर्का एमाले सांसद सूर्यबहादुर थापाले पूर्वराजा ज्ञानेन्द्रलाई फेरि नारायणहिटी फर्किने सपना नदेख्न चेतावनी दिए । केही असन्तुष्ट र भड्किएका आत्माले हुइयाँ मच्चाउँदैमा राजा नफर्किने टिप्पणी गरेका उनले संसद्मा राजा शब्दको प्रयोगमाथि नै आपत्ति जनाए । उनले सदनमा राजा सम्बोधन नगर्न सभामुखले रुलिङ गर्नुपर्ने मागसमेत राखे ।

नेकपा माओवादी केन्द्रका सांसद रणेन्द्र बरालीले सरकारको काम प्रभावकारी हुन नसक्दा राजसंस्था पक्षधरहरू सलबलाउन थालेको बताएका छन् । राजसंस्थालाई अस्तुको संज्ञा दिएका उनले कात्रोमा पोको पारेर बगाइसकेको संस्थाले भूत पिचास बनेर दुःख दिने दुष्प्रयास गर्ने मौका पाएको टिप्पणी गरे । त्यस्तै माओवादीका अर्का सांसद लेखनाथ दाहालले पनि समस्या सडकमा नभएर सरकारमा रहेको बताएका छन् । दाहालले जनताले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न नउठाएको बरु सरकारप्रति जनता आक्रोशित बनेको आरोप लगाए ।

पूर्वराजाको नामले सदन तरंगित हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरू भने खुशी देखिए । अब यो व्यवस्थाले धान्न नसक्ने र राजसंस्थाको अपरिहार्यताको कुरा जनताले बुझिसकेको बताएका उनले पश्चगामी र पुनर्उत्थानवादी कुरा नगरेको भन्दै अभिभावकको भूमिका निर्वाह गर्ने राजसंस्था संसदबाटै व्यवस्था गर्न सकिने बताए । राप्रपा सांसद रोशन कार्कीले फागुन २५ गते राजाको समर्थनमा निस्किएको भीड ट्रायलमात्र भएको भन्दै आगामी दिनमा पूर्वराजाको पक्षमा यस्तो भिड बढ्दै जाने जिकिर गर्दै गणतन्त्रवादीहरूलाई लुक्ने ठाउँ खोज्न चेतवानी नै दिए ।

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले राजावादी देखाएर कांग्रेस र एमालेले देश लुटिरहेको र यी दुई दलका नेताबाट नै लोकतन्त्र खतरामा परेको आरोप लगाए । त्यस्तै कांग्रेस सांसद अर्जुननरसिंह केसीले सरकारले पटक पटक नेपाल शिक्षक महासंघसँग गरेका सम्झौता कार्यान्वयन गरेर आन्दोलित शिक्षकहरूलाई काममा पठाउन माग गरेका छन् । केसीले सरकारको ध्यानाकर्षण गराउँदै सम्झौता कार्यान्वयन नगर्नु खेदजनक भएको बताए । प्रतिनिधिसभाको अर्को बैठक बुधबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ । बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा सरकारले ल्याएका पाँच अध्यादेशसम्बन्धी प्रतिस्थापन विधेयक पेस गर्ने तयारी छ ।