सत्ताको आठ महिना गुजारेको कांग्रेस–एमालेको गठबन्धन अहिले चौतर्फी दबावमा छ । सत्तामा रुमल्लिदै जनताको निराशा चिर्न नसक्दा राजावादी सल्बलाउनु, भूराजनीतिक चपेटामा पर्नु, प्रतिपक्षको दबावलगायत यावत् कारणले घेरिँदा सरकार कस्तो रणनीति बुन्दैछ त ?
दुई तिहाइसहितको कांग्रेस–एमालेको शक्तिशाली सरकार यतिबेला चौतर्फी घेरिएको छ । जनताका निराशा चिर्न नसक्नु, विकास निर्माण र सुशासनका कामलाई अघि बढाउन नसक्नु, कुटनीतिक मामिलामा कमजोर भएको सरकारलाई दक्षिणी छिमेकी भारतले बेवास्ता गर्नु, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालका नेताहरुलाई ठग करार गर्नु, प्रतिपक्षसमेत एक भएर अघि बढ्दा सरकार घेरिएको र कमजोर भएको महसुस गरेका राजावादीलेसमेत यही मौकामा झनै सशक्त रुपमा घेराबन्दी बढाएका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहले फागुन ७ गते वक्ततव्य जारी गर्दै जनताको साथ खोजेपछि सल्बलाएका राजावादीको आइतबार काठमाडौंको शक्ति प्रर्दशनले सरकारलाई झस्काएन मात्रै उनीहरु प्रतिवादमासमेत उत्रिए । अझ नेकपा माओवादी केन्द्रले त राजावादी सल्बलाउँदा सरकारले केही गर्न नसकेको भन्दै जसलाई ठेगान लगाउन आफूहरुको विकल्प नरहेको भन्दै जनतासँग तराई मधेश जागरण अभियान नै रोक्दै नयाँ राजनीतिक रेखा तय गर्न काठमाडौं फर्कियो । नेतृत्वको शैलीबाट दिक्क भएका राजावादीको यो शक्ति प्रर्दशनलाई जनताले पनि समर्थन जनाउँदा उनीहरुले विकल्प खोजेको प्रष्ट झल्को दिएका छन् ।
यतिबेला प्रतिपक्ष दलहरु मात्रै सरकारविरुद्ध एक ढिक्का छैनन् टुटफुट भएका मधेशवादी दलहरुसमेत सरकारविरुद्ध एकत्रित भएका छन् । अझ नेपाल ग्रे लिस्टमा परेपछि सरकार असफल भएको भन्दै सदनबाटै प्रधानमन्त्रीको राजीनामा माग्दै जनताको घरदैलोमा पुगेको माओवादी सरकारविरुद्ध त्यहीबाट प्रहार गरिरहेको छ । त्यतिमात्रै होइन जनतासामू कांग्रेस–एमालेलाई माओवादीले कमजोर प्रमाणित गर्ने प्रयास गरिरहेको छ । प्रतिपक्ष मात्रै सरकारको रैबयाप्रति सत्ताधारी दल पनि रुष्ट छ । कांग्रेसकै केही तप्का जनतामाथि मनपरी चल्दा बढेको निराशाले स्थिति जटिल मोडमा पुगेको र सरकार असफल बाटोमा पुगेको स्वीकार गर्छन् ।
प्रधानमन्त्री ओलीले पटकपटक छिमेकी देश भारतको भ्रमण गर्न खोजेपनि उसले वास्ता गरेको छैन । ओलीको राष्ट्रवादी मुद्दाबाट रुष्ट रहेको भारत बरु यो सरकार नै चाहँदैन । तैपनि पटकपटक कुटनीतिक पहलमार्फत परराष्ट्रमन्त्रीस्तरीय रुपमा सन्तुलन मिलाउन खोजेपनि सरकार सफल भएको छैन । प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सम्बन्ध कसिलो बन्दा भारतसँगको कुटनीतिक गाँठो अझै फुकाउन यो सरकार सफल हुन सकेको छैन । यहीबीचमा यूएसएडदेखि एमसीसी परियोजना स्थगनसम्म आइपुग्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ठग करार गरेपछि नेपालको छवि नै विश्वस्तरमा उदांगिएको छ ।
अझ कामको परिणाम दिएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग पौठेजोरी खोज्दै उनलाई हटाउन खोज्नुले सरकार थप बदनाम बनिरहेको छ ।
सरकार जति कुलमानविरुद्ध लागे पनि उनीप्रतिको जनसमर्थन झनै बढिरहेको छ । यहीबीचमा शिक्षा ऐन जारी गर्न दबाब दिँदै देशभरका शिक्षक फेरि सडक आन्दोलनबाट सरकारमाथि दबाव बढाइरहेका छन् । उता काठमाडौं महानरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)सँग जुध्नाले पनि सरकार आलोचनाको केन्द्रमा परिरहेको छ । सरकार आफ्नै कार्यशैलीले एकपछि अर्को दबाब र बदनाम हुँदा प्रधानमन्त्री ओलीले परिणाम दिने मामिलामा अब गम्भीर हुनुपर्ने बताएका छन् ।
सत्तामाथि चौतर्फी प्रश्न उठिरहँदा नेतृत्व तह भने सत्तामै रहेका एकले अर्कालाई रिझाउने स्वार्थसिद्धिमा व्यस्त देखिन्छ । एकपछि अर्को निराशालाई सम्बोधन गर्ने भन्दा पनि सरकार विरोधीहरुलाई ठेगान लगाउने बाटोतर्फ अग्रसर हुँदा झनै घेराबन्दीमा परेको छ ।।।
प्रतिक्रिया