खेलकुद

सुर्खेतको भव्य रंगशाला, कांग्रेसका मन्त्रीको शिलान्यास


आसन्न दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि लक्षित गरेर बनाइको संरचना निर्माणको सम्पूर्ण कार्य सम्पन्न भइसकेको छ । आगामी चैत २३ देखि ३० गतेसम्म कर्णाली प्रदेशमा हुने राष्ट्रिय खेलकुदका लागि संरचना निर्माणको काम सकिएको र तयारी पूरा भएको प्रदेश खेलकुद परिषद्को दाबी छ ।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्नका लागि कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा सुविधासम्पन्न रंगशाला निर्माण भएको छ । प्रदेशकै गौरवको आयोजना अन्तरगत रहेको रङ्गशालामा एकैसाथ फुटबल मैदान र एथलेटिकसका खेलहरु संचालन गर्न सकिने गरि संरचना निर्माण गरिएको हो । १० हजार दर्शक क्षमताको पाराफिटसहित रङ्गशाला भित्रिन र बाहिरिन १२ वटा साना तथा ठूला गेटहरु निर्माण गरिएका छन् । भीआईपी पाराफिटतर्फ माथिबाट आकर्षक टनेल लगाइएको छ । मुख्य रंगशालाको बाहिरपट्टि भलिबल कोर्ट, बास्केटबल, स्वीमिङ कोर्टहरु तयार भइसकेका छन् । छेउ छेउमा दुई ठूला कभर्ड हलहरु निर्माण गरिएका छन् ।

यहाँ एक साथ १२ वटा खेल खेलाउन सकिने छ । भीआईपी पाराफिट मुनिको दुई तला अफिसियल काम र खेलाडीहरुका लागि पर्याप्त हलहरु निर्माण गरिएका छन् । साथै २ सयभन्दा बढी चारपांग्रे तथा दुई पांग्रे सवारी साधन राख्न मिल्ने अन्डरग्राउन्ड पार्किङ बनाइएको छ । केही महिनाअघि देशको एकमात्र अन्तर्राष्ट्रिय दशरथ रङ्गशालाले पानी पर्दा खेतकै रुप लिएको थियो । तर, सुर्खेतको रङ्गशालामा भने सर्फेस ड्रिनेज सिस्टम भएको हुँदा यस्तो नियति भोग्नु नपर्ने निर्माण पक्षका प्राविधिक पुरुषोत्तम बरालले बताएका छन् । जतिसुकै पानी परे पनि आधा घण्टामा नै मैदान खेल्न योग्य हुने छ ।

कर्णालीको परिचयकै रुपमा रहेको पञ्चदेवल आकृतिमा गेटको निर्माण गरिएको छ । कर्णालीमा पुरातात्विक सम्पदाको विशेष महत्व राख्ने पञ्चदेवलमा कर्णालीकै ढुङ्गा प्रयोग गरिएको छ । दैलेख, कालीकोट, अछाम, जुम्लालगायतका जिल्लामा पुरातात्विक हिसाबले बनेका पञ्चदेवलहरू छन् । त्यही पञ्चदेवलाई आधुनिक वास्तुकला मार्फत् प्रतिनिधित्व गर्ने उद्देश्यले यसको निर्माण गरिएको हो । करिब नौ बिघामा फैलिएको रङ्गशाला देशकै लागि नमुनायोग्य खेल संरचना भएको कर्णाली प्रदेश खेलकुद विकास परिषद्को दाबी छ । यसका साथै विदेशबाट खरिद गर्नु पर्ने टायल प्रयोग नगरी पाराफिटदेखि सिँडी पर्खाल लगायत रङ्गशालाको विभित्र स्थानहरूमा पनि कर्णालीकै ढुङ्गा प्रयोग गरिएको छ ।

कर्णाली प्रदेशमा बनेको हालसम्मकै व्यवस्थित, वृहत र सुविधायुक्त रंगशालाले यहाँको खेल प्रवद्र्धनका लागि महत्वपूर्ण सहयोग पुग्ने देखिन्छ । निर्माण भएको संरचनामा सरकारले समय समयमा विभिन्न खेल कार्यक्रमहरु आयोजना गरि फाइदा लिन सके खेलाडीहरुको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने त छँदैछ, वीरेन्द्रनगरको व्यापार व्यवसायसमेत फस्टाउने र नगरको अरु पूर्वाधार विकास बढेर जाने आशा गर्न सकिन्छ । राष्ट्रियस्तरको सुविधायुक्त रङ्गशाला निर्माण भएपछि स्थानीयमासमेत खुसीयाली छाएको छ ।

राष्ट्रिय खेलकुदֿ आयोजनाका लागि कर्णाली प्रदेश सरकारले भ्याटसहित कुल १ अर्ब ५९ करोड ४७ लाख ४७ हजार बजेटमा ठेक्का सम्झौता गरेको थियो । निर्माण जिम्मा पाएको एमएसी÷जिएसएल जेभीले २०८१ जेठ ११ गते निर्माण सम्पन्न गरिसक्नु पर्ने समयसीमा भए पनि कोरोना महामारीका कारण लामो समयसम्म चिनियाँ नाका नखुलेका कारण सामान ढुवानीमा समस्या भएकाले ७ महिना ढिलो हुन पुगेको निर्माण पक्षले जनाएको छ ।

रङ्गशालाको २०७८ मंसिर २० गते तत्कालीन मुख्यमन्त्री जीवनबहादुर शाहीले शिल्यान्यास गरेका थिए । आयोजना तीन वर्षको अवधिमा रंगरोगन बाहेकका लगभग शतप्रतिशत काम सकिएको हो । रंगरोगनका केही काम पनि माघ महिनामै सम्पन्न गरि निर्माण व्यवसायीले कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी भइरहेको छ ।