काठमाडौं । रुस र युक्रेनबीच युद्ध सुरु भएको १ हजार २४ दिन पुगेको छ भने रुसले युक्रेनको पूर्वाधारलाई लक्षित गर्दै मिसाइल र ड्रोनको आक्रमण तीव्र पारेको छ । शुक्रबार साँझ भएको हमला तीन वर्षको अवधिमा अहिलेसम्मकै भयानक रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनविरुद्ध गरेको पछिल्लो हमलामा ९३ वटा क्षेप्यास्त्र र करिब २ सय वटा ड्रोन प्रहार गरेको पुष्टि गरेका छन् ।
यो हमला युक्रेनको ऊर्जा क्षेत्रमा सबैभन्दा ठूलो आक्रमण भएकोे उनले बताए । आक्रमणले युक्रेनको ऊर्जा र यातायात सञ्जालमा ठुलो क्षति पुगेको छ । युक्रेनको सबैभन्दा ठूलो निजी ऊर्जा कम्पनी र थर्मल पावर प्लान्टहरूमा गम्भीर क्षति पुगेको जेलेन्स्कीले जनाएका छन् । जसले देशको ऊर्जा आपूर्तिमा चिन्ता बढाएको राष्ट्रपति जेलेन्स्कीले बताएका छन् । केही ड्रोनले आवासीय क्षेत्रका घरहरूका झ्यालहरू क्षति पुगेको जनाइएको छ । तर कुनै मानवीय क्षति भने नभएको उल्लेख गरिएको छ ।
चिसो मौसममा देशको ऊर्जा पूर्वाधारमा क्षति पु¥याउने रणनीति रुसले चालेको दाबी गर्दै जेलेन्स्कीले लाखौं युक्रेनीहरूलाई आतंकित पार्न ठुलो स्तरको आक्रमण गरिएको आरोप लगाए । रुसी हमलाको जवाफमा युक्रेनको रक्षा पंक्तिले ८१ वटा मिसाइल नष्ट गर्न सफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । जसमा ११ वटा क्रुज मिसाइल परेका थिए ।
रुसले यस्ता आक्रमणबाट लाखौं मानिसलाई आतंकित गरिरहेको भन्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध अन्तर्राष्ट्रिय एकताका लागि राष्ट्रपति जेलेन्स्कीले आव्हानसमेत गरेका छन् ।
(बाँकि भिडियोसहित)
प्रतिक्रिया