Breaking

दाउराको विकल्प बन्दै विद्युतीय शव दाहगृह, मेसिन थपेर निःशुल्क गर्ने योजना


काठमाडौँ – हिन्दू धर्मवलम्बीहरुको आस्थाको केन्द्र । पवित्र पशुपतिनाथ मन्दिर परिसरको प्राचिनता संरक्षण एवंम वातावरणीय पक्षलाईसमेत ध्यानमा राख्दै विद्युतीय शव दाहा गृह सञ्चालनमा छ । सुरुवाती चरणमा दाहसंस्कारसँग जोडिएका परम्परागत पक्षका कारण प्रयोगमा आनाकानी हुने गरेको भए पनि पछिल्लो समय कम खर्च र दाहसंस्कारसमेत छिटो हुने हुँदा (फर्निस) विद्युतीय शव दाहगृहमा दाहसंस्कार गर्नेको संख्याको बढ्दै गएको छ । पशुपति क्षेत्र विकास कोष विद्युतीय शव दाहगृहको प्रयोगलाई थप प्रभावकारी र व्यवस्थित बनाउन लागि परिरहेको छ ।

हिन्दू धर्मवलम्बीहरुको आस्थाको केन्द्र आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरमा जन्मदेखि मृत्युसम्मका संस्कार सम्पन्न गरिन्छ । उपनयनभन्दा बढी मृत्यु संस्कार गरिने बाग्मती किनारमा अवस्थित छ आर्यघाट । पशुपतिनाथ मन्दिरको पूर्वतर्फको ठिक तल ब्रह्मनालसँगै आर्यघाट पर्दछ । आर्यघाटको चितास्थलमध्ये १ नम्बर विशिष्ट व्यक्तिका लागि र २ नम्बर सबैका लागि प्रयोग गरिन्छ । पशुपतिनाथ मन्दिरसँगै बाग्मती पुलको दक्षिणमा भस्मेश्वर घाट छ । भस्मेश्वरमा दश वटा शव जलाउने स्थल छ ।

आर्यघाटको दुई नम्बरको चिता र भष्मेश्वर घाटमा दाहसंस्कार गर्न ब्रह्मनालमा शव राखेर मात्र चिता बुकिङ गर्न पाइन्छ । मृत्यु पछि दाहसंस्कार अनिवार्य संस्कार हो । बढ्दो शहरीकरणसँगै पशुपतिमा शवको चाप, एउटा शव जलाउँन तीनदेखि चार घण्टा समय लाग्ने, आर्थिक हिसाबले दाउरा, घिउ, धुप बत्ती, चन्दन कपुरदेखि जनशक्ति सबै पक्षलाई हिसाब गर्दा कम्तीमा १५ हजार रुपैयाँ खर्च हुन्छ । दाउराबाट शव दहन गर्दा निस्केको धुवाँले हुने वायु प्रदूषण, घाटबाट निक्लिने दाउराका ठुटा, खरानी, कोइलाले कुरुप बनेको बाग्मती नदी र किनारको कुरा गरिसाध्य छैन ।

दाउराबाट दाहासंस्कार गर्दा लाग्ने समय, खर्च र मुख्यत वातावरणीय पक्षलाई ध्यानमा राख्दै पशुपति क्षेत्र विकास कोषले २०७२ सालमा विद्युतीय शवदाह गृह (फर्निस) सञ्चालनमा ल्याएको थियो । दुईवटा मेसिन स्थापना गरेर सुरुवात गरिएको विद्युत शवदाह गृहमा अहिले तीन वटा मेसिन सञ्चालनमा छ । अर्को दुईवटा मेसिन थप्ने तयारी लगभग अन्तिम चरणमा पुगेको छ ।

कम खर्च र दाहसंस्कार पनि निकै छिटो हुने, वातावरणीय हिसाबले समेत अनुकूल भएकाले कोषले विद्युतीय शव दाहगृहको प्रयोगमा जोड दिँदै आएको छ । अर्को धार्मिक एवंम पुरातात्विक हिसाबले जिवन्त पशुपतिनाथ मन्दिरको प्राचिनताको संरक्षण, वातावरणीय सुरक्षाका हिसाबलेसमेत विद्युतीय शव दाहगृहको महत्व बढ्दै गएको छ ।

यहाँको विद्युतीय शव दाहगृह (फर्निस) मा एउटा शव आधा घण्टादेखि ४५ मिनेटमा जलि सक्छ । आर्थिक हिसाबले पनि दाउराभन्दा सस्तो छ । दाउरामा कम्तीमा १५ हजार रुपैयाँ खर्च लाग्छ भने फर्निसमा ४ हजार शुल्क तिरे पुग्छ । कोभिड महामारीमा फर्निसको अत्यधिक प्रयोग भएको थियो ।

कोभिडकालमा मात्र फर्निसमा ८ हजारभन्दा बढी शव दहन भएको कोषको तथ्याङकमा उल्लेख छ । अहिले दैनिक ७२ वटा शव दहन गर्ने मेसिनको क्षमता छ । अर्को एउटा मेसिन थपिँदा दैनिक थप २४ वटा शव दहन क्षमता बढ्ने छ । तुलनात्मक रुपमा विस्तारै विद्युतीय शव दाहगृहमा शव दहन गर्नेको संख्या बढ्दै गएको छ । २०७९ मा ३ सय १ शव विद्युत शव दाहगृहमा दहन भएकोमा २०८० मा यो संख्या बढेर ३ सय १३ पुगेको छ ।

२०८१ सालको वैशाख महिनामा मात्र विद्युत शव दाहगृहमा मृत्यु संस्कार गर्नेको संख्या ३ सय ३० पुगेको छ । अहिले सरदर दैनिक १० देखि १२ वटा शव दाहसंस्कार हुने गरेको कोषले जनाएको छ । सुरुवातताका विद्युतीय मेसिनमार्फत दाहसंस्कार गर्ने विषय सर्वसाधरणलाई बुझाउन कठिन परेको कोषले अहिले भने केही सहज महसुस गरेको छ । अहिले सर्वसाधरण स्वःस्फूर्त फर्निसको प्रयोगमा आकर्षित हुन थालेको कोषले जनाएको छ । यसलाई थप व्यवस्थित गर्न कोषले मेसिन थप गर्ने र पूर्वधार चुस्तदुरुस्त बनाउने कार्यलाई प्राथमिकतामा राखेको छ ।

कम खर्च र दाहसंस्कार पनि छिटै हुने भएपछि अहिले विद्युतीय शव दाहगृहमा दाहसंस्कार गर्नेको संख्या तुलनात्मक रुपमा बढ्दै गएको र सर्वसाधारणको आकर्षण पनि बढेको छ । विद्युतीय शव दाहगृह दाउराबाट दाहसंस्कर गर्ने संस्कारको विकल्प बन्दै गएकोमा दुईमत छैन ।