Breaking

दोस्रो खेलमा नेपाल पराजित


काठमाडौं । नेपाल ५ खेलको टी–२० शृंखलाअन्तर्गत दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’सँग पराजित भएको छ । आइतबार सम्पन्न खेलमा नेपाल १० रनले पराजित भएको हो। योसँगै वेस्ट इन्डिजले शृंखलामा १–१ को बराबरी गरेको छ।

वेस्ट इन्डिजले दिएको १६१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५० रन बनायो। नेपालका कप्तान रोहितले अविजित रहँदै सर्वाधिक ७१ रन बनाए। ४८ बल खेलेका उनले ६ चौका र २ छक्का प्रहार गरे। गुल्शनकुमार झा २६, लोकशबहादुर बम १७ र आरिफ शेख १२ रनमा आउट हुँदा सागर ढकाल १ बल खेल्दै अविजित रहे।

वेस्ट इन्डिजका ओबेद म्याक कोए र गुडाकेश मोतीले २÷२ विकेट लिए। ओशान थोमस र रोस्टन चेजको नाममा १÷१ विकेट रह्यो।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६० रन बनायो। वेस्ट इन्डिजका गुडाकेश मोतीले आक्रामक ब्याटिङ गर्दै ८ बलमा २ चौका र ४ छक्कासहित ३३ रन बनाए। उनी अविजित रहे। म्याथ्यू फोर्डे ११ रनमा अविजित रहे ।