राजनीति

गतिछाडा सांसद, बैठकमै मोबाइल हेर्नेदेखि एकअर्कालाई जिस्काउनेसम्म, मनलाग्दी बोल्नेदेखि अटेरसम्म (भिडियोसहित)


काठमाडौँ— संसदको मुख्य जिम्मेवारी कानुन निर्माण हो । तर, गत निर्वाचनपछि कानुन निर्माणका सवालमा प्रतिनिधि सभा कमजोर देखिएको छ । विधेयक अधिवेशन भनेर चिनिने चालु हिउँदे अधिवेशनले दुई महिना बित्न लाग्दा एउटै विधेयक अघि बढाउन सकेको छैन । संसद् कमजोर देखिँदा सभामुखकै कार्यक्षमतामा समेत प्रश्न उठ्छ । कतिपय सांसदको क्रियाकलापले संसदीय गरिमालाई नै गिज्याइरहेको छ ।
जनतामा निहित सार्वभौम सत्ताको अभ्यास गर्ने थलो हो प्रतिनिधि सभा । कानुन निर्माण गर्ने यसको मुख्य काम हो । सरकार निर्माणदेखि आम सरोकारका विषयमा संसदमा घनभूत छलफल हुन्छ । सरकारले नराम्रो काम ग¥यो भने अंकुश लगाउने थलो पनि प्रतिनिधि सभा नै हो । त्यसैले सांसदहरूलाई क्षेत्रगत र विषयगत रुपमा धारणा राख्न प्रत्येक बैठकमा समय छुट्याइएको हुन्छ । तर, संसदीय अभ्यास सुरु भएको ६ दशक भइसक्दा पनि अझै आलोकाचो जस्तो देखिन्छ । जनसरोकार र कानुन निर्माणमा खरो रूपमा उत्रिनुपर्ने सांसदहरू बैठकमा सहभागी हुने, हाजिर गर्ने, विरोध गर्नेमा सीमित हुन पुगेको छ । अनुशासन र नैतिकताको पाठ सिकाउनुपर्ने सांसदहरू आफ्नो गरिमा भुलेर एकले अर्कालाई तथानाम गालीगलोज गर्नसमेत पछि पर्दैनन् । असंसदीय भाषा प्रयोग गरेको भन्दै कतिपय सांसदले बोलेको कुरा नै हटाउनुपर्ने स्थितिसमेत छ । ६ दशक लामो इतिहास बोकेको सदन कुन रूपमा चलिरहेको छ भन्ने कुरा नेपाली कांग्रेसका सांसद रामहरी खतिवडा र प्रतिनिधि सभा उपसभामुख इन्दिरा राणा मगर बीचको यो हासी मजाकले देखाउछ ।

जनताको कुरा जनताकै भाषामा सांसदले राख्नु संसदको मौलिकता हो । विषयबस्तु अध्ययन गरेर नीति निर्माणमा सहयोग र जनजीविकाको विषय उठान गर्नु सांसदको जिम्मेवारी हो । तर, देशलाई निकास दिने र जनताका समस्या समाधान गर्न पहल गर्ने थलो संसद नै हो । तर, कतिपय माननीयहरूलाई लेखेको कुरा पढ्न पनि कनिकुस्ती गरेको दृष्य कम रोचक छैन ।
मौलिक शैलीमा माननीयहरू संसद बैठकमा प्रस्तुत हुँदा निकै कर्णप्रिय हुन्थ्यो । कतिपयलाई भाषाका कारण पक्कै कठिनाइ हुन्छ । भाषा र विषयबस्तुको अभाव भिन्न कुरा हुन् ।

अझ, कतिपय माननीयको ध्यान सदनका गतिविधिमाभन्दा मोवाइलमा हुने दृष्यले पनि गिज्याइरहेको छ । सभाम्ुखले पटक पटक संसदीय मान्यताविपरीत मोवाइल प्रयोग नगर्न ध्यानाकर्षण गराउनुपरेको छ । गम्भीर विषय सदनमा बहस भइरहँदा निदाउने सांसदको पनि कमी छैन । संसदका हाजिर लगाएर टाप कस्ने सांसद पनि उत्तिकै छन् । जसका कारण कोरम नपुगेर धेरै पटक संसद बैठक नै स्थगित गर्नुपरेको छ । देश र जनताको मुहार फेर्छू भन्दै चुनावमा भाषणा गर्ने नेताहरू संसदमा पुगेपछि कतिपय निदाएरै समय काट्ने त कतिपयले के बोलेँ भन्ने पनि थाहा पाँदैनन् । स्वयं सांसदहरूले आफ्नो भूमिका र दायित्व बुझ्नुपर्छ । संसदको गरिमा बढाउन सभामुख, सरकार र राजनीतिक दलहरू गम्भीर बन्नैपर्छ ।