Breaking

त्रिकोणात्मक टी–२० सिरिज : फाइनलमा नेपाल र नेदरल्यान्ड्स खेल्ने


काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुने भएको छ ।

आइतबार वर्षाको कारण नामिबिया र नेदरल्यान्ड्सबीचको खेल रद्द हुन पुग्यो । दुबै टोलीले १–१ अंक बाँडे । नामिबियासँग अंक बाँडेपछि नेदरल्यान्ड्स ५ अंकसहित शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको छ ।

दोस्रो भएको नेपालको ४ अंक छ । बराबरीपछि नामिबियाको ३ अंक मात्र भयो । त्रिवि क्रिकेट मैदानमा आइतबार नेदरल्याण्ड्सविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबिया १५ ओभरमा ९८–४ को अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो । पुन वर्षा भएपछि खेल रद्द भएको हो ।

नेपाल पहिलो खेलमा नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले हारेको थियो । तर आफ्नो तेस्रो खेलमा नेपालले नामिबियालाई ३ रन र नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । फाइनल खेल मंगलबार हुनेछ ।