Breaking

आजदेखि अध्यागमनको सेवा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म


काठमाडौँ – अध्यागमन विभागले आज फागुन १ गतेदेखि सेवा अवधिको समय बढाएको छ । विभागले आजदेखि बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म हप्ताको सातै दिन सेवा दिने जनाएको छ ।

यसअघि कार्यालय समय बिहान १० बजेदेखि साँझ ५ बजेसम्ममात्र सेवा प्रवाह हुँदै आएको थियो भने सार्वजनिक विदाको दिन विदा हुने गर्दथ्यो ।

स्वदेश तथा विदेशमा रहेकाहरुलाई सहज र छिटो सेवा प्रवाह गर्नका लागि समय अवधि थप गरिएको विभागका महानिर्देशक रुद्रसिंह तामाङले जानकारी दिए । ‘हामी ई–भिसामा गइसकेपछि देश–विदेशबाट अप्लाई भइरहेको हुन्छ । युरोप, अमेरिकामा रहेकाहरु उठ्ने बेला हाम्रो सुत्ने बेला हुन्छ, टाइमिङ नमिल्दा छिटो भिसा नपाउने जस्ता समस्या देखिएको छ । त्यसैले हामीले समय थपेर सेवा प्रवाह सुरु गरेका छौं ।’ सहज र छिटो भिसा जारी भयो भने नेपालमा पर्यटक आगमन पनि बढ्ने उनको विश्वास छ ।

विभागका निर्देशक रेवती रमण शर्माले जारी गरेको सूचनामा लेखिएअनुसार थप गरिएको समयमा नेपाल आगमन पूर्व ई–भिसाको लागि आवेदन र स्वीकृती, पर्यटक भिसा थप, गैह्रपर्यटक भिसाबाट पर्यटक भिसामा रुपान्तरण, गैह्रपर्यटक भिसा जारी र ट्रेकिङ परमिट जारी गर्ने काम हुने छ । ई–भिसाको लागि आवेदन तथा प्राप्ति प्रक्रियाका लागि विभागको वेबसाइटमा अपलोड गरिएको तरिका हेर्न विभागले भनेको छ ।

बिहान १० बजेदेखि अघि र साँझ ५ बजेपछि भने भिसा शुल्क भुक्तानी अनलाइन प्रणालीमार्फत् मात्र गर्न सकिने सूचनामा उल्लेख छ । बैंकहरु बन्द भइसक्ने भएकाले अनलाइनमार्फत् भुक्तानी हुने भनिएको महानिर्देशक तामाङले बताए । उनका अनुसार जुनसुकै बैंकको एपबाट भुक्तानी गर्न सकिन्छ । फोन पे, कनेक्ट आईपीएस र वालेटतर्फ खल्ती र ई–सेवाबाट भुक्तानी गर्न मिल्ने विभागले जनाएको छ ।