Breaking

वीरेन्द्र र सुजनको यसरी भयो अन्त्यष्टि, परिवारमा रूवाबासी, युवामा आक्रोश, नेता मार्छु किन भन्छन् ?


काठमाडौँ – ईपीएस परीक्षाको फारम भर्ने विषयमा प्रहरीसँगको झडपमा ज्यान गुमाएका सुजन रावत र वीरेन्द्र शाहको शव गृह जिल्ला पुर्‍याइएको छ ।

कोरियाको सपना देखेर काठमाडौं छिरेका यी दुई युवाको शवसँगै परिवारको सपना पनि बन्द बाकसमा सेनाको हेलिकप्टरबाट पाँच दिनपछि घर फर्किएको छ ।

बालकुमारी आन्दोनलमा प्रहरीले आवश्यकभन्दा बढी बल प्रयोग गर्दा मारिएका दुई युवाको शव पाँच दिनपछि बल्ल उठेको छ । मंगलबार दिउँसो नेपाली सेनाको स्काई ट्रकमार्फत दुवै जनाको शव सुर्खेत लगिएको हो । सुर्खेतबाट दैलेखका सुजन रावतको शवलाई सेनाकै हेलिकप्टरबाट गृह जिल्ला पुर्‍याएर अन्त्यष्टी पनि गरिएको छ भने, वीरेन्द्र शाहको शवलाई पनि अछाममा परिवारलाई जिम्मा लगाइएको छ ।

वीरेन्द्रको पनि आजै अन्त्यष्टि गरिएको छ । भविष्य खोज्न कोरियाको सपना देखेर काठमाडौं छिरेका सन्तानको शवलाई बाकसमा हालेर घरमा लाँदै गर्दा परिवारका सदस्य विक्षिप्त बनेका छन् । दुई युवाको शवसँगै परिवारकै सपना पनि उपत्यकाको चौडा र फराकिला सडकमा ढल्यो । र सास नभए पनि लास घर फर्किएको छ ।



चार दिनसम्म शव नबुझेका पीडित परिवारले सोमबार सरकारसँग भएको वार्तामा चार बुँदे सहमति गरेपछि शव बुझेका छन् । प्रधानमन्त्रीले नै बालकुमारी घटना सामान्य नभएको धारणा व्यक्त गरिरहँदा उनकै पार्टी नेकपा माओवादी केन्द्रले पनि घटना गम्भीर रहेको र रहस्यमय रहेको निष्कर्ष निकालेको छ । रोजगारी नपाएर युवाहरू विदेसिनकै लागि तातो गोली खान तयार छन् । तर, पनि राज्यको आखाँ खुल्दैन । नयाँ उद्योग, कलकारखाना खोल्नु त परैको कुरा भएकै पनि बन्द छ । अहिले चलिरहेका सरकारी स्वामित्वका कतिपय उद्योग बन्द हुने अवस्थामा पुगिरहेका छन् । ती कलकारखान सञ्चालन गर्नेतर्फ राज्यको ध्यान जान सकेको देखिँदैन । स्वदेशमा रोजगारीको अवसर बन्द हुँदै जाँदा युवाहरु भने बिदेसिने क्रम तीव्र रुपमा बढेको छ । जसलाई कोरियाली भाषा परीक्षा दिन नपाएको झोकमा प्रदर्शनमा उत्रिएका युवाको भिडले नै पुष्टि गर्छ । बेरोजगार युवालाई रोक्न देशभित्रै रोजगारीको अवसर सिर्जना गर्नेतर्फ राज्य असफल भइसकेको छ । बरु विदेश जान्छु भन्ने युवामाथि गोली बर्साउँदै मृत्युवरण गर्न बाध्य पारेको छ । आफ्नो आवाज उठाउन सडकमासमेत निस्कन रोक लगाउँदै बन्दुकको गोली प्रहार गरेको छ । तर पनि बेरोजगारीकै कारण पीडामा रहेका गोली खान तयार छन्, देशभित्र रोकिन पटक्कै चाहँदैनन् । यो राज्य आफैँले गरेको गम्भीर अपराध हो । तर यो अपराधको जिम्मा लिन सरकार तयार छैन । फलस्वरुप नेपाली आमाबाबु सन्तान गुमाउँदा असैह्य पीडा भोग्न बाध्यछन् । आफ्नो सन्तान गुमाउनुको पीडा त छँदैछ, यद्यपि, उनीहरु आफूहरुले जस्तो अरु नेपालीले भोग्न नपरोस् भन्ने कामना गर्छन् ।
बाइट…पवित्रा कुमारी शाह, वीरेन्द्रकी फुपू
गत शुक्रबार ललितपुर महानगरपालिका–८ बालकुमारीस्थित ईपीएस कोरिया शाखामा परीक्षा फारम भर्ने विषयमा प्रहरी र आवेदन दिन पुगेकाहरूबीच झडप भएको थियो । उक्त झडपमा प्रहरीले गोली प्रयोग गर्दा शाह र रावतको ज्यान गएको थियो । परिवार र आन्दोलनकारीले आफ्नो माग पूरा नभएसम्म शव नउठाउने भन्दै राज्यविरुद्ध सडकमा उत्रिएपछि सरकारले सोमबार परिवारसँग सहमति पत्रमा हस्तक्षर गरेको थियो । सहमतिपत्रमा परिवारको एक÷एक जनालाई उपयुक्त रोजगारी दिने निर्णय गरेको छ भने, त्यसबाहेक सरकारले अतिरिक्त थप राहत उपलब्ध गराउन पहल गर्ने पनि दुई पक्षबीच सहमति भएको छ । यसअघि नै मृतक परिवारलाई सरकारले १०–१० लाख रुपैयाँ दिने निर्णय गरिसकेको छ । दुबै मृतकलाई सहिद घोषणाका लागि पहल गर्नेसमेत सहमति भएको छ ।
बाइट…पुष्पकमल दाहाल, प्रधानमन्त्री
प्रधानमन्त्री दाहालले मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दैै नेपाली युवा विदेसिने क्रम बढ्नु र देशमै भएकाहरुमा पनि छिटो पैसा कमाउने मोह बढ्नु अहिलेको मुख्य चुनौती रहेको बताए । पछिल्लो समय नेपालमा शिक्षाको गुणस्तर राम्रो छैन, यसले विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्दैन जस्तो नकारात्मक भाष्य निर्माण भएको भन्दै उनले असुन्तुष्टि जनाए ।
बाइट…पुष्पकमल दाहाल, प्रधानमन्त्री
प्रधानमन्त्रीले देशभित्रै अवसरहरु छन्, यहाँको शिक्षाको गुणस्तर राम्रै छ भनेर विश्वस्त पार्न चाहेका छन् । तर युवामा देखिएको बेचैनीलाई उनले कति गम्भीर रुपमा लिएका छन्, त्यो भने बुझ्न सकिएको छैन । यदि उनले बुझेका छन् भने बढ्दो बेरोजगारीले आक्रान्त नेपाली समाजको मनोभावनालाई कसरी र कहिले सम्बोधन गर्छन् त्यो भने अनिश्चित छ । हो नेताको चस्मा र जनताको चस्मामा यही फरक छ । यही समस्याका साथै धनी र गरिबबीच बढ्दो खाडल पुर्नतर्फ सरकार नलाग्दा युवा आक्रोशित छन् । त्यही आक्रोशमा मन्त्री तथा नेताहरुले घ्यू थप्ने काम गर्दा बालकुमारी घटना निम्तन गएको छर्लङै छ । चौतर्फी दवावपछि दोषीलाई छोड्दैनौं भनेर सरकारी पक्षले दिने भाषणबाजी सुन्न त थालिएको छ । तर, पीडित परिवारको हातमा लाखको बिटो थमाइ दिने र मृतकलाई सहिद घोषणा गर्न लागि पर्ने बताउने सरकार हत्यारालाई कारबाही गर्छु भनेर लिखित रूपमा कहीकतै उल्लेख गर्दैन ।

रोजगारीको समस्याले देशलाई जर्जर पारेर राज्य संयन्त्रबाटै युवाले ज्यान गुमाउनु पर्ने नियति नेपालीका लागि विडम्बना हो । ज्यान लिने अनि त्यसको मूल्य तिर्छु भन्ने सरकारले नागरिकको सुरक्षा कसरी गर्न सक्छ ? सरकारमाथि नै गम्भीर प्रश्न उठेको छ । ज्यानको बदला ज्यान भन्दै भोलि नेपाली जनता हिंसात्मक प्रदर्शन र आक्रमणमा उत्रिए भने राज्य सञ्चालन गरिरहेकाहरुले त्यो अराजक भिडलाई कसरी रोक्न सलान् ? नेपाली जनताको धैर्यताको बाँध फुट्नु अगावै राज्यले बेलैमा सजक हुनु पर्ने देखिन्छ । आगामी दिनमा यस्ता घटना हुन नदिन र युवालाई अराजक बन्न नदिँन अहिले देखिनै सरकारले दीर्घकालीन योजनाका साथ अगाडि बढ्नु पर्ने देखिन्छ ।