Breaking

बीपीलाई बद्नाम गर्दै देउवा-शेखर, मेलमिलापमै कांग्रेसको विलाप, ओली–प्रचण्ड अटे शेखर अटेनन्

देउवाको कम्युनिस्ट मोह ?


काठमाडौँ – आज पुष १६ । नेपाली कांग्रेसले २०३३ साल यता प्रत्येक वर्र्ष पुस १६ मा ‘राष्ट्रिय एकता र मेलमिलाप’ का रुपमा मनाउँदै आइरहेको छ । तर कांग्रेसभित्रै सबैभन्दा बढी कलह र अन्तरविरोध देखिन्छ । जुन अहिले चरम बिन्दुमा छ ।

ज्यानकै बाजी थापेर तत्कालीन राजासँग मिल्ने उद्देश्यका साथ भारतबाट नेपाल फर्केका बीपी कोइरालाले अंगालेको राष्ट्रिय एकता तथा मेलमिलापको नीतिलाई नेपाली कांग्रेसले अहिलेसम्म निरन्तरता दिँदै आइरहेको छ ।

गणतन्त्र स्थापनाको डेढ दशक बितिसक्यो तर, पनि बीपीको नीतिलाई कांग्रेसले छोडेको छैन । बीपीको नीतिलाई नै आदर्श मानेको कांग्रेसले हरेक वर्षको पुस १६ मा झै यसपटक पनि ४८ औं मेलमिलाप दिवस मनायो । तर तीनै बीपीको पार्टी कांग्रेसभित्र अहिले सबैभन्दा बढी आन्तरिक कलह छ ।

सभापति शेरबहादुर देउवा एउटा बाटो हिँड्न खोज्दा महामन्त्री गगन थापा र नेता शेखर कोइराला त्यसलाई भत्काएर अर्काे बाटो हिँड्न खोजिरहेका छन् । शान्ति प्रक्रिया र संविधान निर्माणमा संलग्न दल र कम्युनिस्टहरूलाई एकताबद्ध हुनुपर्ने सन्देश दिन पार्टी संस्थापन पक्षले कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम आयोजना गर्दैगर्दा उता इतर पक्षका शेखर–गगन समूहले पनि राजधानीकै एक पार्टी प्यालेसमा मेलमिलापकै सन्दर्भमा अर्काे भेला आयोजना गर्‍यो । जसबाट अरुलाई एकताबद्ध हुन सन्देश दिन चाहेको कांग्रेसभित्रैको बेमेलले लाज पनि लजाउनु पर्ने अवस्थाको सिर्जना भएको छ । चरम गुटबन्दी हुने कांग्रेसमा दुईतिर फर्कनु कुनै नौलो कुरो होइन । तर, मिलमिलाप दिवसकै दिन संस्थापन र इतर पक्षको छुट्टाछुट्टै कार्यक्रमले भने जग हसाँएको छ । आफ्नो पार्टी भित्रको असन्तुष्टिलाई सम्बोधन गर्न नसकेको कांग्रेसले कार्यक्रममा भने मेलमिलापको नारा सुनाएर आफ्नै खिल्ली उडाएको छ ।

बीपीलाई भजाएर खान पल्केका अहिलेका कांग्रेसी नेताहरूले अहिले कांग्रेस पार्टीलाई नाममा मात्रै सीमित राखेका छन् । वीपीको अस्तुमा नै राजनीति गरिरहेका कांग्रेसी नेताहरूले उनले रोपेको रुखमा बसेर हाँगा काटिरहेका छन् । अनि त्यही काटेको हाँगाबिगा पनि जोगाउन नसक्दा अरु दलले फाइदा लुटिरहेका छन् । न त नेतृत्वले नै कांग्रेसलाई एक गराउन सकेको छ न त बीपीकै उत्तराधिकारी भनिएका शेखरले त्यसलाई अपनत्व गर्न सकेका छन् ।

नशा नशामा बीपीको रगत बगेको छ भन्न भ्याउने कांग्रेसी नेता बीपीलाई नै पार्टीको आदर्श र मियो त मान्छन् तर एउटै कार्यक्रमा पनि उभिन सक्दैनन् । ‘परेका बेलामा बीपीको नीति चल्छ नपरेका बेलामा कांग्रेसमा नेता चल्छ ।’ भन्ने भनाई ०४६ सालदेखि चर्चित छ । बीपीकै नीतिलाई भर्‍याङ बनाएर कम्युनिस्टहरू कांग्रेससँग जोडिएर आन्दोलन गर्छन्, सत्ता यात्रा गर्छन्, राजनीतिक समाधान खोज्छन् तर कांग्रेस नेताहरू छुट्टाछुट्टै भाषण गरेर एक अर्कालाई गाली गर्छन् ।

२०१७ साल पुस १ गते विश्वेश्वरप्रसाद कोइराला प्रधानमन्त्री भएकै समयमा राजा महेन्द्रबाट बहुदलीय प्रजातान्त्रिक व्यवस्था विघटन गरी राजनीतिक दलमाथि प्रतिबन्ध लगाउने काम भयो । अनि पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपीलगायतका नेतालाई थुनियो । त्यसको ८ वर्षपछि २०२५ कात्तिक १४ गते रिहाइ भएका बीपी सहकर्मीसहित भारत पलायन भए । त्यसको अर्काे ८ वर्षपछि २०३३ साल पुस १६ गते उनी आफ्ना साथीहरू गणेशमान सिंहसहित शैलजा आचार्य, रामबाबु प्रसाईं, नीलाम्बर पन्थी र खुमबहादुर खड्कालाई साथमा लिएर राजासँग विद्रोह होइन, मेलमिलाप गर्नुपर्छ भन्ने नीति लिएर स्वदेश फर्किएका थिए । त्यसै वर्षदेखि पुस १६ लाई नेपाली कांग्रेसले राष्ट्रिय मेलमिलापका रुपमा मनाउँदै आएको छ ।

आफ्नो र राजाबीच सहयात्राको प्रस्ताव नै बीपीको ‘राष्ट्रिय मेलमिलाप’ थियो । राजासँग मुठभेड नगर्ने तर व्यवस्था पनि स्वीकार नगर्ने नीतिका साथ उनी स्वदेश फर्किएका हुन् । जसको सन्देश अन्य दलले समेत अहिलेसम्म स्वीकार गरेका छन् । यद्यपि झण्डै पाँच दशकदेखि मेलमिलाप दिवस मनाउँदै गर्दा कांग्रेसभित्रको आन्तरिक मिलाप भने देखिँदैन । २०४७ पछि कांग्रेसमा सुरु भएको गुट र उपगुटकोे संस्कारले कुनै समय संसद्मा दुई तिहाइ बहुमत कायम राखेको उसले आफैँ भित्रको बेमेलका कारण आफ्नो शक्ति दिन प्रतिदिन गुमाउँदै गएको छ ।