परराष्ट्रमन्त्री एनपी साउद र कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानीबीच शिष्टाचार भेटवार्ता भएको छ ।
कतारको राजधानी दोहामा उहाँहरुबीच आज शिष्टाचार भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री साउदले हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको शीघ्र रिहाइका लागि थप सशक्त पहल गरिदिन विशेष अनुरोध गरेको साउदको सचिवालयले जनाएको छ ।
परराष्ट्रमन्त्री साउदले हमाससँगको कतारको सम्पर्क, कतार र नेपालबीचको जनस्तरलगायतको मित्रवत सम्बन्धका आधारमा सरकारले उच्च आशा गरेको बताउनुभयो । जवाफमा कतारका प्रधानमन्त्री अल थानीले विपिन जोशीलगायत विदेशी बन्दीहरुको रिहाइका लागि कतार सरकारले उच्च प्रयास गरिरहेको बताउनुभएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ ।।
प्रतिक्रिया