Breaking

आर्मी क्लब केपी ओली कपको फाइनलमा प्रवेश


काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लब पोखरामा जारी केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

आज भएको पहिलो सेमिफाइनलमा बागमती प्रदेशलाई ४ विकेटले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो। बागमतीले दिएको १ सय २८ रनको लक्ष्य आर्मीले १५औँ ओभरमा भेट्टायो। आर्मीका लागि भीम सार्कीले सर्वाधिक ३९ रन बनाए। उनलाई सोनु देवकोटाले आउट गरे। कप्तान विनोद भण्डारी २५ रन बनाएर बागमतीका कप्तान सन्दीप लामिछानेको बलमा आउट भए।

त्यसअघि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १ सय २७ रन बनायो। बागमतीका लागी प्रतीक श्रेष्ठले सर्वाधिक ५० रन बनाए।

कप्तान सन्दीप लामिछानेले १९, रित गौतमले १४, इशान पाण्डेले १२, सोनु देवकोटाले ९, शुभ कंशाकारले ३ र रोशन विकेले १ योगदान दिए।

प्रतियोगिता अन्तरगत आजै विभागीय टोली एपीएफ र मधेश प्रदेशबीच भिड्ने छन्। यी दुईको विजेताले उपाधिका लागि भोलि आर्मीसँग खेल्नेछ।