Breaking

एकदिवसीय विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियालाई


काठमाडौं । भारतलाई घरेलु मैदानमा स्तब्ध पार्दै अष्ट्रेलियाले आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ।

भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा १ लाख ३० हजार दर्शक सामू भारतलाई ६ विकेटले पराजित गर्दै अस्ट्रेलिया च्याम्पियन बनेको हो।यससँगै अस्ट्रेलिया छैटौं पटक विश्वविजेता बन्न सफल भएको छ ।

सन् १९८७ मा पहिलो पटक उपाधि जितेको अष्ट्रेलियाले सन् १९९९, २००३ र २००७ मा उपाधि जितेर ह्याट्रिक गरेको थियो । यस्तै अष्ट्रेलियाले २०१५ मा पाँचौ पटक उपाधि जित्ने क्रममा न्युजिल्यान्डलाई पराजित गरेको थियो।भारतको तेस्रो पटक उपाधि जित्ने लक्ष्य भने पूरा हुन सकेन। सन् १९८३ मा पहिलो पटक उपाधि जितेको भारत पछिल्लो पटक २०११ मा च्याम्पियन बनेको थियो।यसपटक लिग चरण र सेमिफाइनल गरी लगातार १० खेलमा अपराजित रहदै उत्कृष्ट लयमा रहेको भारत फाइनलमा भने अस्ट्रेलियासँग पराजित भयो ।

अष्ट्रेलियाले यो विश्वकपमा सुरुवाती दुई खेलमा पराजय भोगेको थियो। पहिलो खेलमा भारत र दोस्रो खेलमा दक्षिण अफ्रिकासँग हारेको अष्ट्रेलियाले त्यसपछि सात खेल जितेर सेमिफाइनलमा स्थान पक्का गरेको थियो।अस्ट्रेलियालेसेमिफाइनलमा दक्षिण अफ्रिका र फाइनलमा भारतलाई पराजित गर्दै समूह चरणको हारको बदला समेत लिन सफल भयो।