अन्तर्राष्ट्रिय

इजरायल–हमासबीचको युद्ध रोक्ने प्रस्ताव संयुक्त राष्ट्रसंघमा पारित


इजरायल र हमासबीच जारी युद्ध २२ औं दिनमा पुगेको छ ।
संयुक्त राष्ट्रसंघको महासभामा इजरायल–हमास युद्ध रोक्ने प्रस्ताव पारित भएको छ, जसमा शत्रुताको अन्त्य गर्न तत्काल दिगो मानवीय युद्धविरामको आह्वान गरिएको छ । यो प्रस्तावको पक्षमा नेपालको सहित १२० मत परेको थियो भने विपक्षमा १४ देशले मतदान गरेका थिए । भारतसहित ४५ देशले मतदान गरेनन्, भने इजरायलले यो प्रस्तावको विपक्षमा मतदान गरेको छ । न्युयोर्कमा भएको संयुक्त राष्ट्रसंघको बैठकमा इजरायलका राजदूत गिलाड एर्डनले हमासलाई यस्तो अत्याचार गर्न दिएर आफू चुप लागेर नबस्ने र आफ्नो रक्षा गर्ने अधिकार रहेको बताएका छन् ।

उता इजरायली सेनाले शुक्रबार राति गाजामा हवाई आक्रमणलाई तीव्र पारेको छ, भने स्थलगत परिचालन समेत बढाइएको छ । आक्रमणका कारण गाजा क्षेत्रमा सञ्चार अवरूद्ध भएको छ भने इन्टरनेट पनि बन्द गरिएको छ । करिब २३ लाख मानिस सञ्चारबाट सम्पर्कविच्छेद भएका छन् । यसैबीच, इजरायलले हमासको कब्जामा २ सयभन्दा बढी बन्धक रहेको र त्यसमध्ये ३० जना बालबालिका रहेको जनाएको छ ।