Breaking

भारतमा देखिएको प्राणघातक निपा भाइरस नेपाल प्रवेश गर्दै ? कति छ जोखिम ?


काठमाडौँ — छिमेकी मुलुक भारतको दक्षिणी राज्य केरलामा देखा परेको निपा भाइरस संक्रमणले आसपासका मुलुकमा सन्त्रास फैल्याएको छ । निपा भाइरसको स्रोत सुँगुर र चमेराजस्ता जनावर हो । प्राणघातक मानिएको निपा भाइरसको जोखिम नेपाल कति छ ? यो भाइरसको जोखिम कम गर्न के गर्न सकिन्छ ? छिमेकी मुलुक भारतको दक्षिणी राज्य केरलाको कोजिकोडे जिल्लामा निपा भाइरसको संक्रमणबाट दुई जनाको निधन भयो ।

भारतमा सन् २०१८ यता चौथो पटक यसको संक्रमण देखिइसकेको छ । सेप्टेम्बर २४ मा ६ जनामा संक्रमण भेटिएकोमा संक्रमित अन्य चार जना निको भएर डिस्चार्ज भईसकेका छन् । भाइरस देखा पर्नासाथ सम्पूर्ण शैक्षिक संस्था, कार्यलय पूर्णत बन्द गरिएको थियो । अहिले केरलामा निपा भाइरस नियन्त्रणमा आइसकेको दावी गरेको छ । तर केरलामा देखिएको निपा भाइरसको सन्त्रासले छिमेकी मुलुकहरु समेत त्रसित बनेको छ । श्रीलंका, पाकिस्तान लगायत मुलुकले विशेष सर्तकता अपनाउन उर्दी नै जारी गरेको छ । भारतको केरलामा निपा भाइरसको संक्रमण पुष्टिसँगै नेपाल पनि जोखिममा रहेको विज्ञहरुको तर्क छ ।

एनआईभी भनिने निपा भाइरस एक जुनोटिक भाइरस हो । विश्व स्वास्थ्य संगठनका अनुसार निपा भाइरस जुनोटिक भाइरस हो जुन जनावरबाट मानिसमा सर्ने गर्दछ । सन् १९९८ मा पहिलो पटक मलेसियामा पहिचान भएको यो भाइरस हालसम्म सँगुर, चमेरा र घोडाबाट मानिसमा सरेको पाइएको छ । मलेसियमा सुँगुरपालक कृषकमा यो संक्रमण भेटिएको थियो । यो भाइरस मानिसबाट मानिसमा पनि सर्छ । सन् २००१ मा भारतको सिलिगुडीमा मानिसबाट मानिसमा निपा भाइरस सरेको विभिन्न अध्ययनमा उल्लेख छ । निपा भाइरस विशेष गरी शरीरको ¥याल, दिशा पिसाव लगायतको तरल पदार्थबाट सर्ने गर्दछ ।

विश्व स्वास्थ्य संगठनका अनुसार प्राण घातक भाइरस संक्रमणको मृत्युदर ४० देखि ७५ प्रतिशतसम्म छ । यो भाइरसको संक्रमणविरुद्ध अहिलेसम्म कुनै पनि औषधि र खोप पत्ता लागेको छैन । खुला सीमा, मानिसहरुको सहज आवतजावत र अर्को सुगुर बंगुरको मासुको बढ्दो प्रयोग, व्यवसायीक रुपमा फार्महरु सञ्चालनमा रहेको र चमेराहरु पनि प्रशस्त पाइने हुँदा सर्तक रहन चिकित्सकहरुको सुझाव छ ।

निपा संक्रमण देखिएमा ज्वरो आउने, टाउको दुख्ने, श्वासप्रश्वासको समस्या, कमजोरी, होस हराउँदै जाने जस्ता लक्षण देखिने गर्दछ । संक्रमणबाट जोगिन आम सर्वसाधारणले आवश्यक सावधानी अपनाउँदै सरकारी स्तरबाट पनि जोखिम न्यूनिकरणको अभ्यास अहिलेदेखि नै अघि बढाउनुपर्ने देखिन्छ ।