Breaking

न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने सहकारीलाई सरकारले व्यवस्थापन खर्च दिने, सूचीकृत हुन आग्रह


काठमाडौँ – सरकारले न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने सहकारी संस्थाहरुलाई व्यवस्थापन खर्च उपलब्ध गराउने भएको छ । त्यसका लागि इच्छुक सहकारी संस्थाहरुलाई सूचीकृत हुन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले अनुरोध गरेको छ ।

सूचीकृत हुनका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मातहतका जिल्लास्थित कार्यालयमा (परियोजना कार्यान्वयन एकाइ) मा आवेदन दिनुपर्ने छ ।

सरकारले २०८० असार २६ गतेको मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्ष २०९०र८१ का लागि मोटा धानको प्रतिक्विन्टल ३ हजार १९८ रुपैयाँ न्यूनतम समर्थन मूल्य तोकिदिएको थियो । यसैगरी मध्यम धानको मूल्य प्रतिक्विन्टल ३३६२ रुपैयाँ तोकिएको थियो ।

सोही समर्थन मूल्यमा किसानहरुबाट धान खरिद गर्ने सहकारी संस्थाहरुलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय मार्फत् व्यवस्थापन खर्च उपलब्ध गराउन लागिएको हो ।

‘न्यूनतम समर्थन मूल्यमा धान खरिद र व्यवस्थापन गर्ने सम्बन्धी निर्देशिका २०७७’ बमोजिम सहकारी संस्थाहरुलाई व्यवस्थापन खर्च उपलब्ध गराइने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जनाएको छ ।

निर्देशिकामा कृषकहरुको धान खरिदका लागि आवश्यक बजेट खरिदकर्ता स्वयंले व्यवस्थापन गर्नुपर्ने र यसरी खरिद गर्ने खरिदकर्ताका लागि आवश्यक भण्डार घर लगायतका पूर्वाधार, धान प्रशोधनका मेसिनरी उपकरणहरु खरिदमा कृषि मन्त्रालयले प्राथमिकता दिने उल्लेख छ ।

सूचिकृत सहकारी संस्थाले खरिद गरिएको धान भण्डारणका लागि नेपाल सरकार मातहतको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका गोदामहरु लगायत नेपाल सरकार, प्रदेश सरकार वा सरकारी निकायका भण्डारणक ालागि उपयुक्त संरचनाहरुको उपयोग गर्न सकिने निर्देशिकामा उल्लेख छ ।

साथै सूचीकृत सहकारी संस्थाले खरिद गरेको धान गुणस्तरमा ह्रास नहुने गरी भण्डारण गर्नुपर्ने र भण्डारण गरिएको स्थान तथा गोदामको विवरण परियोजना कार्यान्वयन इकाइमा दिनुपर्ने व्यवस्था पनि निर्देशिकामा गरिएको छ ।