देश

सुरक्षाकर्मी नै चढ्छन चोरीको मोटरसाइकल,चोरीको मोटरसाइकल चढ्ने सशस्त्र प्रहरी इन्सपेक्टर मलंगवाबाट पक्राउ


काठमाडौँ —सर्लाहीको सदरमुकाम मलंगवाबाट चोरीको मोटरसाइकल चढ्ने गरेको सशस्त्र प्रहरी निरिक्षक९इन्सपेक्टर०सहित दुईजना शुरक्षाकर्मीलाई स्थानीयहरुले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । मलंगवा नगरपालिका वडा न(६ खुटौना बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्सपेक्टर) अंगद खड्कालाई मलंगवा वडा न -४ स्थित शिवसागर चौकमा रहेको नुतन श्रुति आयल स्टोरबाट चोरीको मोटरसाइकलमा पेट्रोल हाल्न आएको समयमा स्थानीयहरुले नियन्त्रणमा लिई आवश्यक कार्यवाहीको लागि प्रहरीलाई बुझाएका हुन ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक नरेश सुवेदीका अनुसार उक्त मोटरसाइकल मलंगवा न।पा वडा न-९ निवास राकेश राउत पटेलको रहेको र प्रदेश–२–०२–००३ प ७७२९ नम्बरको उक्त मोटरसाइकल गत फागुन १२ गते चोरी भएको थियो । चारी भएको भोलिपल्टै फाल्गुन १३ गते पटेलले जिल्ला प्रहरी कार्यालय मलंगवामा सवारी खोजतलासको लागि लिखित निवेदन समेत दिएका थिए । इन्सपेक्टर खड्कासहित अर्का एक जना सशस्त्र प्रहरी जवान चोरी भएको सोही नम्बरको टिभिएस अपाचे मोटरसाइकल लिएर नुतन श्रुति आयल स्टोर्समा पेट्रोल लिन पुगेपछि सवारी धनीले मोटरसाइकल पहिचान गरेका थिए ।

मोटरसाइकलको विषयमा सशस्त्र इन्सपेक्टर खड्का सँग सोधपुछ गर्न खोज्दा भाग्ने कोसिस गर्न थालेपछि स्थानीयहरुले उनीहरूलाई पक्राउ गरी प्रहरीको जिम्मा लगाएका थिए । सशस्त्र प्रहरीले सर्लाहीको व्यस्त बजारबाट चोरी भएको मोटरसाइकल सवारी धनीलाई फिर्ता दिनुको साटो गैरकानूनी कार्य गरी उक्त मोटरसाइकलमा सेतोमा बा–२ ब ९७२६ सरकारी नम्बर प्लेट राखेर निर्वाध रुपमा चढदै आएका थिए । यस विषयमा थप अनुसंधान भइरहेको प्रहरीले जनाएको छ ।