Breaking

स्वर्णिम र रमेशको साथपछि हौसिए रवि, तीनै सिट जित्ने दावी, गठबन्धन र एमालेले धुलो चाट्छन्


काठमाडौँ — मंसिर ४ को निर्वाचनमा अनपेक्षित परिणाम निकालेको रास्वापा सत्ता यात्रासँगै आलोचनाको शिकार बन्यो । अहिले उपनिर्वाचनको सरगर्मी बढेसँगै अन्य दलका चर्चित नेताकै भरमा रैथाने दलमाथि हावी बन्न खोजेको देखिन्छ । छोटो समयमा नै गृह मन्त्रालयसम्मको यात्रा तय गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले प्राप्त गरेको सबै पद एकै दिनमा गुमेपछि रास्वपा सकिएको आंकलन गर्नेहरु धेरै थिए । मन्त्री, सांसद, पार्टी सभापति यहाँसम्म कि नेपाली नागरिक समेत नरहेका उनी अब उठ्नै नसक्ने गरि बझारिएको निकैले चर्चा गरे । तर, उनी अहिले झन् बलियो राजनीतिमा खारिएको उनले दिने अभिव्यक्तिले दर्शाइरहेको छ । खुट्टामा बिझेको काँडा झिक्न निहुँरिदा झुकेको सम्झिनेहरुलाई व्यंग्य गर्दै उनी अब एकको बदलामा तीनलाई लिएर सांसद छिर्ने दाउँमा छन् ।

रास्वपाले वैशाख १० गते हुने उपनिर्वाचनका लागि तीनवटै क्षेत्रमा बलिया उम्मेदवार उठाउने निश्चित छ । चितवन २ मा सभापति रवि लामिछाने स्वयम् उठ्ने घोषणा पार्टीले गरिसकेको छ भने अन्य दुई निर्वाचन क्षेत्रमध्य तनहुँ १ को प्रारम्भिक चरणमा डा.स्वर्णिम वाग्लेसहित ईश्वर लामिछाने र डा.रुपक विक घिमिरे र बारा २ मा रमेश खरेलसहित युवराज न्यौपानेको नाम पार्टीले सार्वजनिक गरेको छ । तनहुँ र बारामा औपचारिक घोषणा हुन बाँकी नै भए पनि चर्चित अनुहारलाई चुनावी मैदानमा उतार्दै क्लिन स्वीप गर्ने रास्वपाको योजना छ ।

नेपाली कांग्रेसबाट राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएर काम गरेका वाग्ले र डीआईपछि सुशासन पार्टीको नेतृत्व सम्हालेका खरेललाईसमावेश गरि पार्टीलाई बलियो बनाउने रणनीति रास्वपाको रहेको बुझिन्छ । संगठन विस्तारमै रहेकोे स्वतन्त्रले उपनिर्वाचनमा पार्टीभित्रै सशक्त र योग्य नेताभन्दा पनि ओजनदार उम्मेदवारमा विश्वास राखेको देखिन्छ । तुलनात्मक रुपमा धुमिलिँदै गएको पार्टीको छवि यी दुईको प्रवेशले स्वच्छ बनाउने विश्वास पनि पार्टीले लिएको छ । पार्टी र सदन दुवैको हैसियत सुधार्न रास्वपाले अपनाएको रणनीतिले काम गर्न सक्ला ?

पछिल्लो समय युवा र नयाँ सोच भएका व्यक्तिहरुको राजनीतिक गन्तव्य रास्वपा बन्दै गएको छ । कांग्रसकै महाधिवेशन प्रतिनिधि डा.प्रणयशम्शेर राणा पनि कांग्रेस त्याग गरि रास्वपाको बाटो तय गरेका थिए । परम्परागत शैलीबाट दल चलाइरहेका पार्टी नेतृत्व र त्यसै शैलीलाई आत्मसात् गर्ने बानी बसालिसकेका नेताहरुले अगाडी बढनै नदिने तह र तप्काले गर्दा विकल्प खोज्ने गरेका छन् । विकल्प भन्दै रास्वपा प्रवेश गरेका उनीहरुको विकल्पलाई सम्बन्धित निर्वाचन क्षेत्रका मतदाताले विकल्प ठान्छन् ठान्दैनन् त्यो भने वैशाख १० पछिको उपनिर्वाचनको परिणामले नै तय गर्ने छ ।