काठमाडौँ — बैंकर संघको भद्र सहमति खारेज भएलगतै बाणीज्य बैंकहरुले ब्याजदर १५ प्रतिशत सम्म पुर्याएका छन् । यस्तै, बैंकहरुले बचत खातामै १० प्रतिशत ब्याज दिन थालेका छन् ।यसले आगामी दिनमा आधार दर, निक्षेपको औषत ब्याजदर र कर्जाको औषत ब्याजदर बढाउने देखिएको छ । लामो समयदेखि ब्याजदरलाई नियन्त्रण गर्ने वाणिज्य बैङ्कको प्रयासको अन्त्य भएको छ ।
वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको संस्था नेपाल बैंकर्स संघले गत माघदेखि गर्दै आएको भद्र सहमतिको नाममा ब्याजदर नियन्त्रणको प्रयास असोजदेखि टुंगिएको छ । वाणिज्य बैंकका प्रमुखहरूले यतिवेला आफूखुसी ब्याजदर तोकिरहेका छन् । अधिकांश बैंकले नयाँ ब्याजदर व्यक्तिगत मुद्दती खातामा १२.१३, संस्थागतमा १०.१३ र रेमिट्यान्स मुद्दती निक्षेपमा १३.१३ प्रतिशत कायम गरेका छन । राष्ट्र बैङ्कको निर्देशनअनुसार प्रत्येक महिनामा ब्याजदर १० प्रतिशतभन्दा तलमाथि गर्न पाइँदैन । सोही सीमामा रहेर अहिले ब्याजदर बढाइएको छ ।
यद्यपि प्रभु बैङ्कले भने रेमिट्यान्स मुद्दती खातामा १५.१३ र बचतमा १०.१३ प्रतिशत ब्याज दिने सार्वजनिक नै गरेको छ । अन्य खातामा भन्दा रेमिट्यान्स खातामा न्यूनतम १ प्रतिशत बिन्दुभन्दा बढी ब्याज दिनुपर्ने व्यवस्था गरेकामा प्रभु बैङ्कले ३ प्रतिशत बिन्दु नै बढी दिएको हो । प्रभुले केन्द्रीय बैंकको नीतिलाई नै ठाडो चुनौती दिएको छ । नेपाल उद्योग वाणिज्य महासं वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल बैंकहरुले ब्याज बढाउनु स्वभाविक नभएको बतानउँछन् । वाणिज्य बैंकहरुले ब्याज बढाउदैमा निक्षेप नबढ्ने उनको धारणा छ ।
नेपाल राष्ट्र बैङ्कले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा राष्ट्रिय अर्थतन्त्रको जोखिमलाई ख्याल गर्दै विदेशी मुद्रा सञ्चति विस्तार गर्ने, मूल्य वृद्धि नियन्त्रण गर्ने र उपलब्ध वित्तीय स्रोतको विवेकपूर्ण प्रयोगमा मौद्रिक नीतिलाई केन्द्रित गरेको थियो । यसका लागि ब्याजदर बढ्नुपर्ने उसको अपेक्षा रहँदै आएको थियो तर बैङ्कर्स सङ्घको भद्र सहमतिले हालसम्म ब्याजदरको स्वाभाविक वृद्धिलाई रोक्ने प्रयास गरे पनि असोजदेखि खुला छाडिएको छ ।ब्याजदरको वृद्धीले विगतमा हुने गरेको बैङ्कहरूबीच अस्वस्थ प्रतिस्पर्धा पुनः दोहोरिने खतरा निम्त्याएको छ ।
खास गरी संस्थागत बचतकर्तालाई एक बैङ्कबाट अर्को बैङ्कले तान्न होडबाजी पनि चल्न सक्छ । त्यस्तै ऋणमा हुने उच्च ब्याजका कारण निजी क्षेत्रका व्यवसायीको लागत पनि बढ्ने र थप कर्जा लिन पनि नसक्ने अवस्था झनै बलियो बनेको छ । पुँजी वृद्धिको कारण वृद्धि भएको कर्जा विस्तार, कर्जा विस्तारले ल्याएको साइड इफेक्ट तरलता अभाव प्रायः हरेक वर्ष बल्झिने गरेको छ । यस अझ वर्ष बढी असर परेको छ ।
गत आर्थिक वर्षभरी र चालू आर्थिकको हालसम्म बैंक तथा वित्तीय क्षेत्रमा तरलताको समस्यमा कायमै छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनका निम्ति अलबम्वन गरेका विभिन्न औजारहरूको प्रभाव न्यून प्रायः रहेको छ । अहिले बैंकहरूको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८९ प्रतिशतको हाराहारीमा रहेको छ । सोहि कारण पनि बैंक हरुले अनियन्त्रीत तवर बाट ब्याजदर बढाइरहेका छन् ।
०००
प्रतिक्रिया