Breaking

करका दर हेरफेर गर्ने अधिकार अर्थमन्त्रीमा निहीत हुन्छ : जनार्दन शर्मा


काठमाडौँ — अर्थमन्त्री जनार्दन शर्माले बजेट बनाउँदा करका दर हेरफेर गर्ने अधिकार अर्थमन्त्रीमा निहीत रहेको जवाफ दिएका छन् । राष्ट्रियसभामा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री शर्माले भने ‘करका दर बढाउँदा देश र जनतालाई हित गर्‍यो कि गरेन, उद्योगलाई कस्तो असर पर्‍यो भन्ने मुख्य हो । अहिलेजसरी बढाउनै पाइँदैन भन्ने होइन । करको दर घटबढ गर्ने अर्थमन्त्रीको अधिकार हो । सबै वर्गको सुझावका आधारमा बजेट प्रस्तुत गरिएको उनको दावी छ ।

कसैले राजीनामा माग्दैमा आफूले नदिने उनले बताए । अर्थमन्त्री शर्माले भने बजेट देश र जनताको पक्षमा ल्याएको कारणले कसैलाई अनैतिक लागेर राजीनामा दिनुपर्ने माग उठ्दैमा त्यहीं गर्नुपर्छ भन्ने होइन । सही र गलत भोलि इतिहासले पुष्टि गर्नेछ, मैले गरेका निर्णयप्रति म जवाफदेही छु । बजेटमा कृषि क्षेत्रको रुपान्तरण गर्ने विषय समेटिएको उनले बताए । चालु आर्थिक वर्षमा हालसम्म ३ खर्ब ५८ अर्बको खाद्यान्न आयात भएको बताउँदै उनले यसलाई प्रतिस्थापन गर्नेगरी बजेटमा विभिन्न उद्योगका लागि कच्चा पदार्थमा छुट दिइएको बताए । त्यस्तै बिजुली गाडीका सन्दर्भमा उनले महँगा गाडीमा सञ्चिति डलर बढी जाने भएकाले केही कर बढाइएको बताए । उनले भने ‘सस्ता बिजुली गाडी पर्याप्त छन् ।

ठूला गाडीमा डलर पनि बढी बाहिर जाने भएकाले थोरै मात्र राजश्व बढाइएको हो’ उनले भने । सरकारी निकायबाट पेट्रोलियम गाडी नकिन्ने, विद्युतीय मात्रै किन्ने भन्ने विषय पनि बजेटमा उठाइएका बिजुली गाडीलाई प्रोत्साहन गर्न खोजिएको उनले बताए । सेनेटरी प्याडका सन्दर्भमा महिलाको स्वास्थ्यमा ध्यान दिएर सहजीकरण गर्न खोजिएको उनले बताए । सरकारले देशभित्र बन्नेभन्दा धेरै प्याड खरिद गर्ने जिम्मा लिएको उनले बताए । डलरको मूल्यवृद्धि र पेट्रोलको मूल्यवृद्धिले मुद्रा सञ्चिति घटेको उनले बताए । अर्थमन्त्री शर्माले भने सञ्चिति मैले सम्हाल्दा ८ महिनाको थियो अहिले साढे ६ महिनाको छ । त्यसपछि डलर र पेट्रोलको भाउ कसरी बढ्यो त्यो त देखिएकै छ ।