समाचार

न्यादी हाइड्रोपावरको आईपीओ खुल्यो


काठमाडौँ – न्यादी हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अङ्कित मूल्यमा २२ करोड ५० लाख रुपैयाँबराबरको २२ लाख ५० हजार कित्ता आईपीओ बिक्रीका लागि खुला गरेको हो ।

कम्पनीले निष्कासन गर्ने साधारण शेयरमध्ये ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको र २ प्रतिशत अर्थात् ४५ हजार कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरिएको छ । बाँकी रहने २० लाख ९२ हजार ५०० कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आज बैंकिङ समयदेखि आवेदन दिन पाउनेछन् ।

निष्कासन गरेका शेयरमा सर्वसाधारणले यही असोज १९ गतेसम्म न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । सो अवधिसम्म माग गरिएबमोजिम आवेदन नआए ३१ असोजसम्म निष्कासन खुला हुने विवरणपत्रमा उल्लेख छ ।

कम्पनीले हाल लमजुङको मर्स्याङ्दी गाउँपालिकामा कुल ३० मेगावाट क्षमताको न्यादी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजना निर्माणको कुल अनुमानित लागत ६ अर्ब ११ करोड ७७ लाख ५५ हजार ५५ रुपैयाँ र प्रतिमेगावाट लागत निर्माण अवधिको ब्याजसहित २० करोड ३९ लाख २५ हजार १८६ दशमलव ५ हुने कम्पनीले जनाएको छ ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सीआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट शेयरमा आवेदन दिन सक्नेछन् । साथै, अनलाइनमार्फत ‘मेरो शेयर’ प्रयोग गरेर पनि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।