समाचार

लामो सामय पछि ३ दिनमै घट्यो ८६ अंकले नेप्से, आगामी साता के होला ?


काठमाडौँ – यो साता सूचीकृत अधिकांश समूहमा गिरावट आउँदा नेपाली शेयर बजार मापक नेप्से सूचकमा गिरावट देखियो । नेप्से सूचक ३२ सय विन्दु पार गरेपछि बजारमा बिक्रीकर्ता हावी भएका कारण बजार घटेको विश्लेषण भएको छ । बजारले नयाँ रेकर्ड कायम गरेको बेला मनोवैज्ञानिक हिसाबले समेत केही दिन बिक्रेता हावी हुने हुदा आत्तिने अवस्था नरहेको विश्लेषण गरिएको छ ।जलविद्युत कम्पनीहरुमा उतार चढाव आउदा नेपाली शेयर बजार यो साता अस्थीर रह्यो । तिन दिन खुलेको बजारमा नेप्से परिसूचक करिब ३ प्रतिशत घट्न पुगेको छ । अघिल्लो साता ३१८०.७८ विन्दुमा बन्द भएको नेप्से, यस साता २.७३ प्रतिशत अर्थात ८६.७३ अंक बढेर ३०९४.०५ विन्दुमा झरेको छ ।

त्यसैगरी, यस साता सेन्सेटिभ इण्डेक्स ३.१८ प्रतिशत घटेको छ भने फ्लोट इण्डेक्स २.६४ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.०४ प्रतिशत घटेको छ । नेप्सेसँगै यस साता कारोबार रकममा पनि गिरावट आएको छ । गत साता दैनिक औषतमा साढे १९ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा करिब १४ अर्बको शेयर कारोबार भयो । गत साता विद्युत नियमन आयोगले जारी गरेको विज्ञप्तिपश्चात नेप्से परिसूचक ओरालो लागेको विश्लेषण भएको छ । जलविद्युत कम्पनीहरुमा लगानी गर्नुअघि सोचविचार गरी लगानी गर्नुभन्ने आशयको सो विज्ञप्तिले बजार घट्न दबाब पुगेको लगानीकर्ताहरुको भनाइ छ । घट्ने र बढ्ने सेयर बजारको नियम नै भएकोले बजारमा करेक्सन देखिए पनि बजारले पुनः गति लिने उनिहरुको विश्लेषण छ ।

यस साता बजार खुलेका ३ कारोबार दिनमध्ये दुई दिन नेप्से ओरालो लागेको थियो भने अन्तिम कारोबार दिन सामान्य सुधार भएको थियो । यस साता नेप्सेसँगै बजार पूँजीकरण पनि करिब ३ प्रतिशत घटेको छ । गत साताको अन्त्यमा ४४ खर्ब ४३ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण यस साता १ खर्ब २० अर्ब रुपैयाँ घटेर ४३ खर्ब २३ अर्ब रुपैयाँमा सीमित भएको छ । यस साता १३ उपसमूहमध्ये वित्त उपसमूहको परिसूचक मात्र बढेको छ । बाँकी १२ उपसमूहको परिसूचक यस साता ओरालो लागेको छ । यस साता वित्त उपसमूहको परिसूचक ४.५७ प्रतिशत बढेको छ । यस साता लगानी उपसमूहको परिसूचक सर्वाधिक ६.४० प्रतिशत घटेको छ । फ्लोरसिट विश्लेषण गर्दा यस साता मस्ट पपुलर बाइ स्टकको सूचीमा नारायणी डेभलपमेन्ट बैंक, कुमारी इक्विटी फण्ड, प्रभु सेलेक्ट फण्ड, सपोर्ट माइक्रोफाइनान्स लगायतका कम्पनी परेका छन् । त्यसैगरी, यस साताको मस्ट पपुलर सेल स्टकको सूचीमा गुराँस लघुवित्त, सिभिल लघुवित्त, नयाँ सारथी लघुवित्त लगायतका कम्पनीहरु परेका छन् ।