देश

एकतावादी देखिने नाटक बन्द गर्न डा.युवराज संग्रौलाको सुझाव


काठमाडौँ – वरिष्ठ अधिवक्ता डा.युवराज संग्रौलाले एमाले विभाजन हुनुमा अहिले तटस्थ रहेका नेताहरूको पनि ठूलो भूमिका रहेको भन्दै अब एकतावादी देखिने नाटक बन्द गर्न सुझाव दिएका छन् । कुनै समय एमालेको केन्द्रीय विभाग र झलनाथ खनाल प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता रहिसकेका संग्रौला पछिल्लो समय देशभक्तिपूर्ण अभियन्ताका रूपमा क्रियाशील छन् ।

संग्रौलाले एकताका नाममा मन्त्री, सांसद र पद सुरक्षा गर्ने बार्गेनिङ चलिरहेको भन्दै एमाले फुट्नुमा अहिले एकता पक्षमा रहेका ९ जना स्थायी कमिटी सदस्यको पनि भूमिका रहेको दावी गरेका छन् । संग्रौलाले एकताको नाममा फेरि केपी ओलीलाई अल्टिमेटम दिइएको भन्दै अब यी नेताहरूको हैसियत जता गए पनि समस्या सिर्जना गर्ने र गुट बनाउनेमात्र हुने बताएका छन् ।

उनले एमालेका दोस्रो तहका एकतावादी नेताहरूमा देश चलाउने हैसियत नरहेको र बुढा नेताको काँधमा बसेर मन्त्री हुनेमात्र योग्यता देखिएको भन्दै देशको राजनीति अझै नगिजोल्न आग्रह गरेका छन् । संग्रौलाले यो समूह माधव नेपालको पार्टीमा गए पनि अर्को गुट बन्ने र एमालेमा जाँदा पनि समस्या नै सिर्जना गर्ने भन्दै उनीहरूको हैसियत बच्चा जन्मिदा सँगै निस्कने सालको जस्तो भएको टिप्पणी गरेका छन् ।