राजनीति

जिल्ला सभापतिहरूले पार्टी कार्यालयमा धर्ना दिने चेतावनी


काठमाडौँ – कांग्रेसका संस्थापनबाहेकका जिल्ला सभापतिहरूले क्रियाशील सदस्यता वितरण पारदर्शी र निष्पक्ष नभए भदौ ८ गतेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना र अनशन सुरु गर्ने चेतावनी दिएका छन् । राजधानीमा उपलब्ध जिल्ला सभापतिहरूको बैठकले आफ्ना माग सम्बोधनका लागि पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई ३ दिनको अल्टिमेटम दिएका छन् ।

सभापतिलाई सम्बोधन गरेर इमेलमार्फत पठाइएको चेतावनी पत्रमा क्रियाशील सदस्यता वितरणमा धाँधली गरिएको, पारदर्शिता नपनाइएको र ७७ वटै जिल्लामा सभापतिहरूको एउटै प्रक्रियाबाट चुनाव हुनुपर्ने बताइएको छ । वडा तहमा निर्णय भई आएका नाम हटाउने, ठाडै केन्द्रबाट जथाभावी नाम थप्ने र झिक्ने काम भएको भन्दै जिल्ला सभापतिहरूले आपत्ति जनाएका छन् ।