मौसम

कोरोना कहरकाबीच हाँस्य कलाकारको गाईजात्रा, तारोमा राजनीति

गाईजात्रा मात्रा नभई सबै मेला महोत्सव,चलचित्र भवन सबै बन्द छन् ।


काठमाडौँ – हरेक वर्ष भाद्रकृष्ण प्रतिपदाका दिन मनाइने गाईजात्रा पर्व आउन दुई दिन बाँकी छ । धार्मिक तथा साँस्कृतिक महत्व बोकेको गाइजात्रा पर्व मात्र नभई देश र समाजमा कुण्ठित विकृति विसंगति विरुद्ध व्यंङ्ग्य गर्ने गतिलो माध्यम समेत हो । तर कोरोनाका कारण गत वर्ष देखि गाईजात्राको यो रौनक हराएको छ ।

विधिवतरुपमा हरेक वर्ष भाद्रकृष्ण प्रतिपदाका दिन मनाइने गाईजात्रा पर्व राष्ट्रिय पर्वकै रुपमा मनाउने गर्दछ । उपत्यकाका काठमाडौं, भक्तपुर, पाटन सहित नेवार समुदायमा यो पर्वको छुट्टै धार्मिक तथा साँस्कृतिक महत्व रहिआएको छ । अर्कोतर्फ नेपाली हाँस्य रंगमञ्चका लागि गाईजात्रा अझ विशेष छ । कलाकारहरुले समाजमा कुण्ठित विकृति विसंगति विरुद्ध व्यंग्यात्मक शैलीमा राज्यलाई प्रहार गर्ने पर्व समेत हो गाईजात्रा । यस वर्षको गाइजात्रामा पनि मुख्य रुपमा राजनीति र नेताहरु कलाकारको तारो बन्ने देखिन्छ ।

सन् २०१९ यता विश्वभरी फैलिरहेको कोरोना महामारीका कारण अन्य पर्वहरु जस्तै गाईजात्रा पनि सुनसान नै छ । विगतमा सिडी क्यासेट चक्कामा गाईजात्रा निकाल्ने चलन थियो । हप्तौदेखि मेला महोत्सवमा व्यस्त हुने हाँस्य कलाकारहरु कोरोनाकै कारण फुर्सदमा देखिन्छन् ।

कलाकारहरु अहिले टेलिभिजन तथा रेडियो कार्यक्रमहरुमा सीमित भएका छन । तर प्रविधिको विकासँगै अहिले फेसबुक युटुव लगायतका सामाजिक सञ्जालमार्फत कलाकारहरु दर्शकसम्म पुगिरहेका छन् ।

कोरोना महामारी नियन्त्रणका लागि गरिएको लकडाउनका कारण समग्र अर्थतन्त्र थलिएको छ । आम मानिसको दैनिकी आर्थिक, सामाजिक तवरमा मात्र नभई मानसिक रुपमा समेत विभिन्न समस्याहरुबाट थकित छन । गाईजात्रा मात्रा नभई सबै मेला महोत्सव,चलचित्र भवन सबै बन्द छन । यसको प्रत्यक्ष प्रभाव कलाकार अनि कला क्षेत्रमा परेको हो ।