समाचार

कक्षा १२ को परिक्षा अन्यौलमा, सांसद सरकारविरुद्ध आक्रोशित (भिडियो)

परिक्षामा किन खेलवाड ?


काठमाडौँ – कोरोना महामारीलाई मध्यनजर गर्दै सरकारले कक्षा १२ को परीक्षा स्थगित गरेको छ । तर अन्य तहको परीक्षा भने संचालन भइरहेका छन् । यता सांसदहरुले भने कक्षा १२ को परीक्षा अझै संचालन गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका छन् ।

सरकारले कक्षा १२ परिक्षाको स्थगित गरेको दुई साता बितेको छ । परिक्षा कहिले हुने भन्नेमा विद्यार्थी अन्यौलमा छन् । यता संघीय संसद प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा समितिका सदस्यहरुले दुई÷दुई पटक कक्षा १२ को परीक्षा स्थगित गरेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरेका छन् । उनीहरुले विनाविकल्प कक्षा १४ को परीक्षा स्थगित गरेर सरकारले गम्भिर गल्ती बताएका छन् । सदस्यहरुले स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरेर कक्षा १२ को परीक्षा संचालन गर्न समितिले दिएको निर्देशन किन पालना नगरेको ? भनि सरकारलाई प्रश्न समेत गरे ।

समितिका अर्का सदस्य मानबहादुर विश्वकर्माले कक्षा १२ को परीक्षा पटकपटक रोक्ने काम नगर्न सरकारलाई सचेत गराए । उनले विद्यार्थीहरुलाई आतंकित पार्नेगरी कक्षा १२ को परीक्षा स्थगित गराउन कोरोना रोकथाम तथा संकट व्यवस्थापन (सिसीएमसी)ले भूमिका खेलेको भन्दै आक्रोश समेत व्यक्त गरे । कोरोनाको समयमा स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर भएपनि परीक्षा संचालन गर्नुपर्नेमा सांसद विश्वकर्माको जोड छ ।

समितिका अर्का सदस्य एवम् पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चाँडोभन्दा चाँडो कक्षा १२ को परीक्षा संचालन गर्ने वातावरण निर्माण गर्न सम्बन्धित सबै निकायको गम्भिर ध्यानाकर्षण गराएका छन् । उनले परीक्षा संचालनका लागि विद्यार्थीहरुलाई तत्काल आवश्यक कोरोना खोपको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सचेत गराए ।

बैठकमा सिसिएमसीले दिएको निर्देशनका कारण कक्षा १२ को परीक्षा स्थगित गर्नु परेको शिक्षा मन्त्रालयले स्पष्टिकरण समितिमा दिएको थियो । चरणवद्ध रुपमा भएपनि कक्षा १२ को परीक्षा संचालन गर्न तयार रहेपनि कोरोनाका कारण त्यसबाट पछि हटने परिस्थिति आएको जानकारी गराइएको थियो । कक्षा १२ को परिक्षाबारे सरकारले उचित कदम नचाल्दा विद्यार्थीहरु भने अन्यौलमा परेका छन् ।