राजनीति

कक्षा १२ को परीक्षा संचालन गर्न नसक्दा सरकारको चर्को आलोचना


काठमाडौँ – ​प्रतिनिधिसभाका सांसदहरुले कक्षा १२ को परीक्षा अझै संचालन गर्न नसकेकोमा सरकारको चर्को आलोचना गरेका छन् ।

संघीय संसद प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबारको बैठकमा बोल्दै समितिका सदस्यहरुले दुई/दुई पटक कक्षा १२ को परीक्षा स्थगित गरेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरेका हुन्। सांसद जयपुरी घर्तीमगरले बिना विकल्प कक्षा १४ को परीक्षा स्थगित गरेर सरकारले गम्भीर गल्ती गरेको बताइन् ।

समितिको सभापतिसमेत रहेकी उनले स्वास्थ्य सुरक्षा मापदण्डको पूर्णपालना गरेर कक्षा १२ को परीक्षा संचालन गर्न समितिले दिएको निर्देशन किन पालना नगरेको रु भनि सरकारलाई प्रश्नसमेत गरिन् ।

समितिका अर्का सदस्य मानबहादुर विश्वकर्माले कक्षा १२ को परीक्षा पटकपटक रोक्ने काम नगर्न सरकारलाई सचेत गराए । उनले विद्यार्थीलाई आतंकित पार्नेगरी कक्षा १२ को परीक्षा स्थगित गराउन कोरोना रोकथाम तथा संकट व्यवस्थापन केन्द्र (सिसीएमसी) ले भूमिका खेलेको भन्दै आक्रोश समेत व्यक्त गरे ।

कोरोनाको समयमा स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर भए पनि परीक्षा संचालन गर्नुपर्नेमा सांसद विश्वकर्माको जोड छ । समितिका अर्का सदस्य एवं पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले चाँडोभन्दा चाँडो कक्षा १२ को परीक्षा संचालन गर्ने वातावरण निर्माण गर्न सम्बन्धित सबै निकायको गम्भीर ध्यानाकर्षण गराए ।

उनले परीक्षा संचालनका लागि विद्यार्थीलाई तत्काल आवश्यक कोरोना खोपको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सचेत पनि गराए । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्माले सिसिएमसीले दिएको निर्देशनका कारण कक्षा १२ को परीक्षा स्थगित गर्नु परेको स्पष्टीकरण दिए ।

उनले आफूहरु चरणवद्ध रुपमा भए पनि कक्षा १२ को परीक्षा संचालन गर्न तयार रहे पनि कोरोनाका कारण त्यसबाट पछि हट्ने परिस्थिति आएको बताए । प्रवक्ता शर्माले कोरोना संकटकै कारण सिसिएमसीले आफूहरुलाई परीक्षा संचालन गर्ने अनुमति दिन नसकेको पनि समितिलाई जानकारी गराए ।