राजनीति

अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित रुपमा स्वदेश फर्काउन राप्रपाको माग


काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अफगानिस्तानमा रहेका नेपालीहरुलाई सुरक्षित तवरले स्वदेश फर्काउन सरकारसँग माग गरेको छ । सोमबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तालिबानी विद्रोहीले अफगानिस्तानमा सत्ता कब्जा गरेपछि शान्ति सुरक्षा खलबलिएको र त्यहाँ रहेका नेपालीको पूर्ण सुरक्षाको व्यवस्था गर्न सरकारसँग माग गर्ने निर्णय गरेको हो ।

यस्तै राप्रपाले आन्दोलनरत् भूतपूर्व ब्रिटिश गोर्खा सैनिकहरुका मुद्दा सम्बोधनका लागि बेलायत सरकारसँग कूटनीतिक पहल गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ । यसैगरी भदौ मसान्तभित्र वडादेखि जिल्ला तहसम्मको अधिवेशन सम्पन्न गर्ने पनि राप्रपाले निर्णय गरेको छ । राप्रपाको महाधिवेशन आगामी कात्तिक २७ गतेदेखि काठमाडौंमा हुँदैछ ।