विदेश

बाइडेनले धोका दिएको भन्दै उनी विरुद्ध वाइट हाउस बाहिर प्रदर्शन


काठमाडौँ – अमेरिकी राष्ट्रपति जो बाइडेनका कारण विद्रोही समूह तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेको भन्दै अफगानी नागरिकहरूले राष्ट्रपति कार्यालय ह्वाइट हाउस बाहिर उनीविरुद्ध प्रदर्शन गरेको छ ।

आइतबार तालिवानले राजधानी काबुलमा रहेको राष्ट्रपति भवन कब्जा गरेपछि प्रदर्शनकारीहरुले बाईडेनविरुद्ध नाराबाजी गरेको समाचार संस्था एएनआईले जनाएको छ । प्रदर्शनकारीहरूले ‘बाइडेन, तिमीले हामीलाई धोका दियौ । यो सबको जिम्मेवार तिमी हौ’ जस्ता नारा लगाएका छन् । तालिबान काबुल प्रवेश गरेसँगै राष्ट्रपति अशरफ घानीले पनि मुलुक छोडेका छन् ।


अमेरिकी राष्ट्रपति बाइडेनले सेप्टेम्बर ११ भित्रै आफ्ना सबै सेनालाई अफगानिस्तानबाट फिर्ता बोलाउने नीति लिएपछि तालिबान सक्रिय बनेको हो । धमाधम अमेरिकीसहित बाह्य सेनाले अफगानिस्तान छोड्न थालेपछि तालिबानले विभिन्न प्रान्तलाई नियन्त्रण लिने अभियानलाई तीव्रता दिएको थियो ।