राजनीति

के छ नयाँ संसद् भवनको विषेशता ? (भिडियोसहित)

सभामुखदेखि सांसद्हरुले देखाए चासो


काठमाडौँ – संसदीय समितिले सिंहदरवारमा निर्माणाधिन संघीय संसद भवनको लागि पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने निष्कर्ष निकालेको छ । यसअघि सभामुख अग्नि सापकोटाले पनि भवनको अनुगमन गर्दै तोकिएको समयअगाबै निर्माण सम्पन्न गर्न आग्रह गरेका थिए ।

प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिका पदाधिकारीहरुले आईतबार सो निर्माणाधिन भवनको स्थलगत अवलोकन गरेपछि सरकारले पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने निष्कर्ष निकालेका छन् । स्थलगत अवलोकनपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै समितिकी सभापति कल्याणी खड्काले सरकारले सो भवनको निर्माण कार्य समयमै सम्पन्न हुने गरी बजेटको पर्याप्त व्यवस्था गर्नुपर्ने देखिएको प्रतिक्रिया दिइन् । उनले त्यहाँ काम गर्ने श्रमिकहरुका लागि तत्काल कोभिडविरुद्धको खोपको व्यवस्था गर्न र निर्माणस्थल वरपरको फोहोरको पनि तत्काल व्यवस्थापन गर्नुपर्ने आवश्यक्तामा जोड दिइन् ।

त्यस अवसरमा सहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले संसद भवन परिसरभित्र निर्माण भईरहेका १२ वटा ब्लकहरुको कार्य प्रगति विवरण तथा देखिएका समस्याबारे समितिका पदाधिकारीहरुलाई जानकारी गराएका थिए । उनले कोभिडका कारण अपेक्षा अनुसार सो निर्माणधिन भवनको निर्माण कार्यले गति लिन नसकेको बताए । सचिव सिंहले अन्तराष्ट्रिय बजारबाट निर्माण सामग्री खरिद गरि ल्याउने काममा समेत कोभिडले समस्या पारेको पनि संसदीय समितिका पदाधिकारीसँग जानकारी दिए ।

भ्याटबाहेक ६ अर्ब ९२ करोडमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको सो निर्माणाधिन भवनको निर्माण कार्यको जिम्मेवारी टुण्डी शेक जेभीले पाएको छ । २०७६ साल असोज १६ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको सो निर्माणाधिन भवनको निर्माण कार्य २०८० बैशाख १४ गते सम्पन्न गर्ने समयसीमा तोकिएको छ ।

यस अघि सभामुख अग्निप्रसाद सापकोटाले पनि सो निर्माणाधिन भवनको स्थलगत अवलोकन गरी निर्माण कार्य तोकिएको समय भन्दा अघि नै सम्पन्न गर्न आयोजनाका पदाधिकारीहरुलाई आग्रह गगरेका थिए ।