राजनीति

गठबन्धनले फसायो माधवलाई, मन्त्री बनाउन देउवा–प्रचण्डले सकेनन् (भिडियोसहित)


काठमाडौँ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको एक महिना भन्दा धेरै समय वित्यो । तर यसबीच सरकारले पूर्णता पाउन सकेको छैन ।

गठबन्धनभित्रको किचलो र भागबण्डामा समस्या पर्दा मन्त्रीमण्डल विस्तार सफल हुन सकेको छैन । तर गठबन्धनले यसको दोष एमालेको माधव नेपाल पक्षमाथि थुपारिरहेको छ ।

देशभर कोभिडको महामारी चलिरहेको छ, तर स्वास्थ्य मन्त्री छैनन्, भारतीय सुरक्षाकर्मीले नेपालीको ज्यान लिइरहेको छ, कालापानी, लिपुलेकको सीमा विवादका लागि वार्ता गर्नुपर्नेछ । अफगानिस्तानको गृहयुद्धले त्यहाँ रहेका नेपालीहरु घर फर्किन चाहन्छन् । तर देशमा परराष्ट्रमन्त्री नै छैनन् । परीक्षाहरु धमाधम रद्द भइरहेका छन्, लाखौं विद्यार्थीको भविष्य अन्योलमा परेको छ, तर देशमा शिक्षामन्त्री छैनन् ।

सरकारको काम कारबाही प्रभावकारी बनाउन १९ मन्त्री नियुक्त गर्न नसक्दा ६ मन्त्रीको भरमा देश चलिरहेको छ । सरकार गठन भएको एक महिना वितिसक्दा मन्त्रीमण्डल विस्तारलाई पूर्णता दिन प्रधानमन्त्री शेरबहादुर देउवाले प्रत्येक दिन सत्ता गठबन्धनसंग छलफल र गृहकार्य चलाइरहेका छन्, तर सफलता हात परेको छैन । बरु देउवासहितको सत्ता गठबन्धनले मन्त्रीमण्डल विस्तारमा ढीलाई हुुनुको दोष एमालेको माधव नेपाल पक्षलाई दिइरहेको छ । के माधव नेपालकै कारण मन्त्रीमण्डले पूर्णता नपाएको हो त ?

देउवालाई प्रधानमन्त्री बनाउन पार्टीभित्र विद्रोहदेखि सर्वाेच्चको रिटसम्म हस्ताक्षर गरेको माधव पक्षले देउवा प्रधानमन्त्रीमा नियुक्त भएदेखि नै सरकारमा सामेल नहुने स्पष्ट पार्दै आएको छ । सरकारमा जाँदा पार्टी एकता भंग हुने र ठुलो क्षति ब्यहोर्नुपर्ने संकटलाई मध्यनजर गरेको माधव पक्षले अन्य कुरामा सहमति भएपनि सरकारमा सहभागी नहुने दाबी गर्दै आएको हो ।

वरिष्ठ नेता माधवकुमार नेपालसहितका अन्य नेताहरुले पनि आफु प्रतिपक्षको भूमिकामा रहेकाले सरकारमा सहभागी हुन नमिल्ने स्पष्टोक्ति दिदै आएका छन् । सरकारमा जानुपर्ने मत राख्दै आएका केही नेताहरुलाई पनि नेता नेपालले रोकिरहेको बताउँछन् । यस अर्थमा माधव पक्ष सरकारमा सहभागी हुने सम्भावना न्यून देखिन्छ । तर पनि प्रधानमन्त्री देउवासहितको गठबन्धनले माधव पक्षलाई सरकारमा सहभागी बनाउने र यसकै लागि पर्खिएको बताउँदै आएको छ ।

असार २९ मा चार मन्त्रीसहित प्रधानमन्त्रीको सपथ खाएका देउवाले त्यसयता एक स्वास्थ्य राज्यमन्त्री नियुक्ति गरे । त्यसबाहेकको अर्काे उपलब्धी नदेखिदा देउवासहितको सत्ता गठबन्धनले आलोचना खेप्दै आएको छ । किनकि मन्त्रीमण्डल विस्तारमा सत्ता गठबन्धनभित्रै किचलो बढ्दै गएको देखिन्छ ।

मोहराका रुपमा एमालेको माधव नेपाल पक्षलाई देखाएपनि गठबन्धनभित्रका काँग्रेस, माओवादी केन्द्र र जसपामा उपप्रधानसहित कसलाई कति मन्त्रालय दिने भन्ने विषयमै विवाद देखिन्छ । त्यसमा पनि उपप्रधानमन्त्रीका लागि काँग्रेसकै पौडेल पक्षले देउवालाई दबाब दिइरहेको छ । यता माओवादी केन्द्रले प्रवक्ता नारायणकाजी श्रेष्ठ वा कृष्णबहादुर महरालाई उपप्रधानमन्त्री बनाएर आफ्नो पार्टीले सरकारको नेतृत्व गर्नुपर्ने दाबी गर्दै आएको छ । उस्तै दबाब जसपाको पनि छ ।

अध्यक्ष उपेन्द्र यादवले स्वतः उपप्रधानसहित पार्टीको तर्फबाट सरकारमा नेतृत्व गर्ने जसपाको दाबी छ । जम्मा २५ सदस्यीय मन्त्रीमण्डलमा मन्त्री बन्न चाहनेको लावा लस्करले पनि सरकारले पूर्णता पाउन सकेको छैन । फलतः यसलाई मिलाउने जिम्मा पाएका देउवा–प्रचण्ड नै असफल सिद्ध बनेको देखिन्छ ।