राजनीति

देउवा प्रधानमन्त्री बनेको एक महिना पुरा, मन्त्रीपरिषद्ले पाउन सकेन अझै पूर्णता


काठमाडौँ – सर्वोच्च अदालतको परमादेशपछि शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियक्त भएको आज एक महिना पुरा भएको छ । गत असार २९ गते प्रधानमन्त्री बन्नुभएका देउवाले एक महिना बितिसक्दा पनि मन्त्रीपरिषद्लाई पूर्णता दिन सक्नुभएको छैन ।

विगत एक महिनादेखि कांग्रेसका २ र माओवादीका दुई गरी चार मन्त्री र कांग्रेसबाट एक राज्यमन्त्रीसहित सरकार चलाईरहनु भएका प्रधानमन्त्री देउवाको काँधमा १७ वटा मन्त्रालयको भारी छ ।

सत्ता गठबन्धनको सहयात्री घटक एमालेको माधव नेपाल समूहलाई पर्खिंदा मन्त्रिपरिषद विस्तारमा ढिलाई भएको दाबी गरिएको छ ।

तर कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीमा मन्त्रीका आकांक्षी धेरै भएकाले पनि उनीहरुले नाम दिन सकेका छैनन् ।

अर्कोतर्फ निर्धारित मितिमा पार्टीको १४औं महाधिवेशन नहुने भएपछि पार्टीभित्रै अप्ठेरोमा पर्नुभएका प्रधानमन्त्री देउवा महाधिवेशनको नयाँ मिति टुंग्याएर मात्रै मन्त्री थप्ने रणनीतिमा हुनुहन्छ ।

यस्तै सत्ता गठबन्धनका घटकहरुले उपप्रधानमन्त्री दाबी गर्दा पनि प्रधानमन्त्री देउवा अप्ठेरोमा पर्नुभएको छ ।