विदेश

अफगानिस्तानमा सरकारी सेनासँगको संघर्षमा विद्रोही तालिबान बलियो बन्दै, १० वटा प्रान्तीय राजधानी नियन्त्रणमा


काठमाडौँ – अफगानिस्तानमा सरकारी सेनासँगको संघर्षमा विद्रोही तालिबान बलियो बन्दै गएको छ । तालिबानले अहिलेसम्म १० वटा प्रान्तीय राजधानीलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

तालिबानले निकै रणनीतिक महत्वको मानिएको गजनी सहरलाई नियन्त्रणमा लिएको बीबीसीले जनाएको छ । अफगानिस्तानको राजधानी काबुल जोड्ने मुख्य मार्गमा पर्ने गजनी सहर नै नियन्त्रणमा लिएपछि तालिबानलाई काबुल नियन्त्रण गर्न सहज हुन सक्ने आंकलन गरिएको छ । २० वर्षपछि अफगानिस्तानबाट अमेरिकी सेना स्वदेश फर्किएसँगै तालिबान बलियो अवस्थामा पुगेको छ भने सरकारी सुरक्षा फौज नाजुक बन्दै गएको छ । विद्रोहीहरू दिनदिनै प्रान्तीय राजधानी नियन्त्रण गर्दै अघि बढेका छन् र उनीहरूलाई रोक्न सरकारी सुरक्षा फौजलाई मुस्किल परिरहेको छ ।

केहि दिन अघि हेल्मन्डको राजधानी लश्कर गाह नियन्त्रण गरेका तालिबानले कान्दहारमा पनि सुरक्षा फौजमाथि आक्रमण गरेका थिए ।संयुक्त राष्ट्र सङ्घका अनुसार गएको महिनामात्रै अफगानिस्तानमा एक हजार जना सर्वसाधारण मारिएका छन् । लाखौँ नागरिक घर छाडेर सुरक्षित ठाउँतर्फ गइरहेका र कतिपय भोकभोकै रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यम हरुले जनाएका छन् ।