अर्थनीति

मौद्रिक नीति आज सार्वजनिक गर्दै, कोरोनाले थलीएको वित्तीय क्षेत्रमा सुधार अपेक्षा


काठमाडौँ – नेपाल राष्ट्र बैंकले अन्यौलतामा रहेको मौद्रिक नीति आज सार्वजनिक गर्दैछ । राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिकका लागि आफूले सबै प्रक्रिया र तयारी सकेको पटक पटक जनाउँदै आएको थियो । तर, अर्थ मन्त्रालयबाट सो नीति सार्वजनिक गर्न भने अनुमति नपाउँदा रोकिएको मौद्रिक नीति अपेक्षित समय भन्दा झण्डै एक महिना ढिलो सार्वजनिक हुन लागेको हो ।

नियमित बैकिङ गतिविधिदेखि बजेट कार्यान्वयनका धेरै विषयहरू मौद्रिक नीतिका कारण अलमलमा रहँदै आएका छन् । नयाँ आर्थिक वर्ष सुरु भएको एक महिना बित्न लाग्दा समेत मौद्रिक नीति जारी नहुँदा विभिन्न आर्थिक नीति र नियमहरूलाई कार्यान्वयन गर्न समस्या परेको सबै पक्षबाट गुनासो आइरहेको छ । शुक्रवार मौद्रिक नीति सार्वजनिक भएपछि अर्थतन्त्रलाई नयाँ ढङ्गले चलायमान गर्न सकिने भन्दै बैंक तथा वित्तीय क्षेत्र र व्यापारी व्यवसायी समुदायले समेत खुसी व्यक्त गरेका छन् । यसपालीको मौद्रिक नीतिले कोरोनाले तहसनहस भएको वित्तीय क्षेत्रमा सुधार गर्ने अपेक्षा गरिएको छ ।