विदेश

अफगानिस्तानमा सरकारी सेना र तालिवान विद्रोहीबीच युद्ध जारी, कान्दहारको जेल तालिवानको कब्जामा


काठमाडौँ – अफगानिस्तानमा एकपछि अर्को सहर नियन्त्रणमा लिइरहेको तालिबानले दोस्रो ठूलो सहर कान्दहारको एउटा जेललाई आफ्नो कब्जामा लिएर सयौँ कैदीहरूलाई रिहा गरिदिएको छ । अफगानिस्तानमा सरकारी सेना र तालिवान बिद्रोहीबीट लगातार भिडन्त भइरहेको छ ।

अन्तर्राष्ट्रिय रेडक्रसका अनुसार देशको दक्षिणी भागमा अवस्थित कान्दहार सहरका गल्ली– गल्लीमा भिडन्त भइरहेको छ । बढ्दो हिंसाका बीच अफगान सरकारले सेना प्रमुख मोहम्मद अहमदजाइलाई बर्खास्त गरेको छ । उनी गत जुनमा सेना प्रमुख नियुक्त भएका थिए । हालसम्म ३४ मध्ये ९ वटा प्रान्तीय राजधानीहरूलाई नियन्त्रण गरिसकेको तालिबानले कान्दहारलाई पनि कब्जा गने प्रयास गरिरहेको छ ।

रेडक्रसका अनुसार अफगानिस्तानको दक्षिणी सहरबाट मानिसहरू पलायन भइरहेका छन् । अफगानिस्तानमा २० वर्षदेखि रहेका अमेरिकी र अन्य विदेशी फौजले छाडेपछि तालिबानले आफ्नो नियन्त्रण बढाउँदै लगेको छ । संयुक्त राष्ट्रसंघका अनुसार गत महिना मात्र अफगानिस्तानमा एक हजार सर्वसाधारण मारिएका छन् ।