राजनीति

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुखको आह्वान, दिउँसो ३ बजेसम्म दाबी पेश गर्नुपर्ने


काठमाडौँ – लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउनुभएको छ । मुख्यमन्त्री शंकर पोखरेलले दिएको राजीनामा स्वीकृत गर्दै शेरचनले नयाँ मुख्यमन्त्रीमा दाबी गर्न दलहरूलाई आज दिउँसो ३ बजेसम्मको समय दिनुभएको छ ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि प्रदेश प्रमुखले आह्वान गर्नुभएको हो । विपक्षी गठबन्धनसँग सरकार गठनका लागि आवश्यक संख्या भएकाले प्रदेश प्रमुखसँग कांग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चाले दाबी पेश गर्ने तयारी गरेका छन् ।

विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी (सोनाम) लाई नयाँ मुख्यमन्त्रीको रुपमा अघि सारेको छ । कांग्रेस र माओवादीबीच ८–८ महिना सरकारको नेतृत्व गर्ने सहमति भएको छ । सोही सहमति अनुसार सुरुको ८ महिनाका लागि माओवादी नेता केसीलाई अघि सारिएको छ ।