कोरोना विशेष

कोभिडविरुद्धको दुवै डोज खोप लगाए ९८ प्रतिशत सुरक्षा


काठमाडौँ – कोभिड-१९ विरुद्धको दुवै डोज खोप लगाउँदा यो सङ्क्रमण भएका मानिसहरुलाई मृत्युबाट ९८ प्रतिशतसम्म बचाउन सक्ने एक अध्ययनले देखाएको छ । भारत सरकारका अधिकारीले गरेको अध्ययनले त्यस्तो तथ्य देखाएको हो ।

भारत सरकारले गरेको अध्ययनले कोभिडविरुद्धको एउटा मात्र खोपले पनि कम्तीमा ९२ प्रतिशत जति सुरक्षा प्रदान गर्ने देखिएको छ । अध्ययनले एक डोजमात्र खोप लगाएका व्यक्तिलाई पनि कोभिड सङ्क्रमण भएको छ भने उनीहरूलाई ९२ प्रतिशतसम्म मृत्युबाट बचाउने देखिएको हो ।

भारतीय सरकारको निकट थिङ्क ट्याङ्क संस्था एन आइ टि आईले गरेको अध्ययनबाट उक्त तथ्य बाहिर आएको हो । इन्स्टिच्युटका निर्देशक भिके पाउलले नयाँ दिल्लीमा पत्रकार सम्मेलन आयोजना गरेर आफूहरूले त्यस्तो तथ्य पत्ता लगाएको बताएका हुन् ।

उनले भने, ‘कोभिड(१९ विरुद्धको खोपले कोभिड लाग्न नदिनभन्दा पनि लागि सकेपछि मृत्युबाट बचाउन निकै प्रभावकारीरुपमा काम गर्ने देखिएको छ ।’ उनले सो अध्ययन पञ्जावका प्रहरीमा गरिएको जानकारी दिए । पञ्जावमा कोभिडको खोप लगाएका र नलगाएका प्रहरीमा सो अनुसन्धान गरिएको थियो ।

त्यस्तै त्यहाँका प्रहरी जसले एक डोज मात्र खोप लगाएका र दुवै डोज खोप लगाएकामा पनि अनुसन्धान गरिएको थियो । तीमध्ये खोप नलगाएको तुलनामा लगाएका प्रहरीको मृत्यु दर निकै कम थियो । त्यसैगरी दुवै डोज खोप लगाएकामा मृत्युबाट जोगाउनसक्ने ९८ प्रतिशत सुरक्षा रहेको पाइएको थियो ।