खेलकुद

अष्ट्रियालाई पराजित गर्दै इटली क्वाटरफाइनलमा


काठमाडौँ – वैकल्पिक खेलाडीको गोल मद्दतमा अष्ट्रियालाई पराजित गर्दै इटली युरोकप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको दोस्रो प्रिक्वाटरफाइनलमा इटलीले अष्ट्रियालाई २-१ ले पराजित गरेको हो ।

लण्डनस्थित वेम्वली स्टेडियममा भएको खेलमा इटलीका लागि फेडेरिको चिएसा र माटेओ पेसिनाले गोल गरे । अष्ट्रियाका लागि सासा कलाइसिचले एक गोल फर्काए । इटलीले अब क्वाटरफाइनलमा बेल्जियम र पोर्चुगलबीचको विजेतासँग खेल्नेछ ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । पहिलो हाफमा इटलीका सिरो इम्मोबाइलको प्रहार पोष्टमा लागेर बाहिरिएको थियो । ६७औं मिनेटमा मार्को अर्नाउटोभिकले गोल गर्दै अष्ट्रियालाई अग्रता दिलाएपनि भिएआरले अफसाइड रहेकोले गोललाई मान्यता दिएन । भिएआरको सहयोगमा बचेको इटलीले अतिरिक्त समयमा दुई गोल गर्‍यो ।

निर्धारित समयमा दुवै टिमले गोल गर्न नसकेपछि ३० मिनेटको अतिरिक्त समयम थप गरिएको थियो । त्यसको पाँचौ अर्थात खेलको ९५औं मिनेटमा वैकल्पिक फेडेरिको चिएसाले लिओनार्ड्रो स्पिनाजोलाको पासमा गोल गर्दै इटलीलाई अग्रता दिलाएका थिए । उनी ८४औं मिनेटमा डोमिनिको बेरार्डीको स्थानमै मैदान प्रवेश गरेका थिए । युरोमा आठौं पटक इटलीले अतिरिक्त समयमा खेलेको र पहिलो पटक गोल गरेको हो ।

१०५औं मिनेटमा अर्का वैकल्पिक खेलाडी माटेओ पेसिनाले गोल गर्दै इटलीको अग्रता दोब्बर पारे । ६७औं मिनेटमा निकोलो बरेलाको स्थानमा मैदान प्रवेश गरेका उनले फ्रान्सेस्को असेर्बीको पासमा गोल गरेका हुन् ।

११३औ मिनेटमा अष्ट्रियाका सासा कलासिसले गोल गर्दै गोल अन्तर घटाएका थिए । अन्तर्राष्ट्रिय फुटबलमा एक हजार १४२ मिनेटसम्म गोल नखाएको इटलीको कीर्तिमानसमेत भङ्ग एको छ । इटलीका गोलकिपर डिनो जोफले सन् १९७२ देखि १९७४ सम्म १ हजार १४२ मिनेटसम्म गोल बेहोरेका थिएनन् ।

इटलीले १ हजार १६८ मिनेटपछि पहिलो गोल बेहोरेको हो । लगातार ११ खेलसम्म गोल नखाई जित हात पारेको इटलीले १२औं खेलमा गोल खाएको हो ।

इटलीले लगातार अपराजित रहने ८२ वर्ष पुरानो आफ्नै कीर्तिमान तोडेको छ । लगातार ३१ खेलसम्म अपराजित इटलीले यसअघि १९३५-३९ मा आफैले बनाएको ३० खेलको कीर्तिमान तोडेको हो । अन्तर्राष्ट्रिय फुटबलमा लगातार ३५ खेलमा अपराजित रहने कीर्तिमान ब्राजिल र स्पेनको नाममा छ ।