समाचार

डेमोक्र्याटले ल्याएको निर्वाचन सम्बन्धी विधेयक अमेरिकी माधिल्लो सदन सिनेटमा असफल


काठमाडौँ – अमेरिकाको माथिल्लो सदन सिनेटका रिपब्लिकनहरुले डेमोक्र्याटले ल्याएको चुनाव सम्बन्धी विधेयक रोकेका छन् । देशव्यापी रुपमा निर्वाचन सम्बन्धी नियम लागु गर्ने सम्बन्धी व्यवस्थासहितको विधेयकमा रिपब्लिकनहरुले अवरोध गरेका हुन् ।

राष्ट्रपति जो बाइडेनको समर्थन तथा उच्च प्राथमिकतामा रहेको ‘फर द पिपुल’ विधेयक पारित हुन नसकेको हो । विधेयकको पक्षमा ५० र विपक्षमा ५० मत परेको छ । सिनेटबाट विधेयक पारित हुन ६० सदस्यको समर्थन चाहिन्छ । पक्षधरहरुले सन् १९६५ को भोटिङ राइट एक्टपछिको सबैभन्दा बिस्तारित र मताधिकार सुनिश्चित गर्ने व्यवस्था विधेयकमा रहेको बताएका छन् ।

राष्ट्रपति बाइडेनले निर्वाचन कानून सम्बन्धी विषय आफ्नो प्रशासनको मुल मर्म रहेको बताउँदै आएका छन् । गत मार्चमा तल्लो सदनबाट सो विधेयक पारित भएको थियो । निर्वाचन कानून संशोधन अभियानका लागि राष्ट्रपतिबाट जिम्मेवारी प्रदान गरिएकी उपराष्ट्रपति कमला ह्यारिसले सिनेटमा विधेयकमाथिको मतदान प्रक्रिया सञ्चालन गरेकी थिइन् । विधेयक असफल भएपछि उनले आफूहरुको संघर्ष अन्त्य नभएको बताएकी छन् ।

अश्वेतसहितको मताधिकार थप सुनिश्चित गर्ने लक्ष्यसहित डेमोक्र्याटिक पार्टीका सांसदले ९ सय पृष्ठ लामो विधेयक तयार पारेका थिए । तर रिपब्लिकनहरुले राज्यहरुको अधिकार खोसेर केन्द्र सरकारले नियन्त्रण कायम गर्ने प्रयास गरेको आरोप लगाउँदै आएका छन् ।