समाचार

विज्ञापन बोर्ड गठन गर्न आफैं हौंसिएका व्यवसायी पछुतोमा : एकद्वार नीतिलाई लिएर जनाए विरोध


काठमाडौँ – विज्ञापन बोर्ड गठन गर्न हौसिएका व्यवसायी बोर्ड गठन भइसकेपछि भने उसको कामकारबाहीका विषयलाई लिएर विरोधमा उत्रिएका छन् । बोर्डले विज्ञापनको क्षेत्रमा एकद्वार नीति ल्याई सबैलाई समेट्ने योजना बनाएपनि व्यवसायीलाई यो विषय अपाच्य बनेको छ । फलत उनीहरु यस कार्यको विरोध गरिरहेका छन् ।

विज्ञापनमा एकद्वार प्रणाली लागु गर्दा विज्ञापन व्यवसायीहरुलाई नै सहज हुने भएपनि सिमित स्वार्थका लागि विज्ञापन व्यवसायीले यसको विरोध गरिरहेका छन् । सरकारी विज्ञापनमा एकद्वार प्रणाली लागु हुनु भनेको सम्पूर्ण काम बोर्डले मात्रै गर्ने भन्ने नरहेको स्पष्ट भएपनि व्यवसायी असन्तुष्ट छन् । त्यसोत प्रदेश सरकारका निकायमा प्रदेश कानुन र स्थानीय निकायमा स्थानीय कानुन लागु हुने गरी ऐन बनेको र एकै निकायबाट विज्ञापन जाँदा सहज हुने अवधारणाका लागि एकद्वार प्रणाली बनाइएको विज्ञापन बोर्डको दाबी छ ।

विज्ञापन बोर्डले विज्ञापनको समानुपातिक वितरणमा नै विश्वास गर्ने र सञ्चारमाध्यमहरुको विज्ञापनमा आफ्नो पहुँच भएन भन्ने गुनासोको सम्बोधन गर्न ऐनमा व्यवस्था गरेको भएपनि व्यवसायीलाई यो विषय अपाच्य भइरहेको छ । विज्ञापन एजेन्सीहरुले आफ्नो पहुँच घट्ने हो कि भन्ने आशंकाका कारण ऐनको विरोध गरेका छन् । तर बोर्डले भने पहिले कार्य प्रारम्भ गरिसकेपछि प्रतिक्रिया जनाउन अनुरोध गरिरहेको छ । विज्ञापन व्यवसायीले विरोध गरिरहेका बेला नवनियुक्त सञ्चारमन्त्री नैनकला थापाले विज्ञापन बोर्डको काम, कारबाहीको सम्बन्धमा चासो देखाएकी छिन् ।

यस विषयमा ठोस विचार गरेर मात्रै अगाडी बढनुपर्ने उनको जोड रहेको छ । यता विज्ञापनमा एकद्वार प्रणाली लागु गर्दा विज्ञापन व्यवसायीहरुलाई नै सहज हुने बोर्डको दाबी छ । एकै निकायबाट विज्ञापन जाँदा सहज हुने अवधारणाका साथ एकद्वार प्रणालीलाई जोड दिएको बोर्ड अधिकारी बताउँछन् ।

तर नेपाल विज्ञापन संघ (आन) भने विज्ञापन व्यवसायीलाई उपेक्षा गरी एक एकद्वार नीति ल्याउन लागिएको भन्दै त्यसको विरोधमा छ । बोर्डले ऐन, कानुन तथा निर्देशिका बनाउँदा विज्ञापन एजेन्सीको भुमिकालाई खुम्च्याएको उसको आरोप छ ।

नेपाल विज्ञापन संघका पूर्व अध्यक्ष सरकार अथवा नीजि क्षत्रले गर्ने विज्ञापन सम्बन्धी काम विज्ञापन व्यवसायी मार्फत जाँदा नै मिडिया हाउसलाई सहज हुने बताउँछन् । विज्ञापनसँग सम्बन्धित नीति, नियम बनाउँदा यससम्बन्धी विज्ञहरुसँग परामर्श गरेर मात्रै अगाडी बढ्नुपर्ने पूर्वअध्यक्ष सुझाउँछन् ।

विज्ञापन एजेन्सीहरुले आफ्नो पहुँच घट्ने हो कि भन्ने आशंकाका कारण ऐनको विरोध गरिरहेका छन् । विज्ञापन बोर्डले कुन मोडालिटी अनुरुप काम गर्ने भन्ने विषयमा विभिन्न निकायसँग छलफल गरिरहेको छ । यता स्वार्थको खेलमा रुमल्लिएका व्यवसायी भने आगामी दिनमा विज्ञापन व्यवसायलाई अप्ठ्यारो पार्ने काम गरिए संघर्षको कार्यक्रम गर्ने भन्दै बोर्डलाई धम्की दिईरहेका छन् ।