राजनीति

महाधिवेशनबारे छलफल गर्न काँग्रेसको पदाधिकारी बैठक बस्दै


काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा शनिबार दिउँसो २ बजे बस्ने बैठकमा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने बताईएको छ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे समेत छलफल हुनेछ ।

संवैधानिक व्यवस्था अनुसार आगामी भदौसम्ममा पार्टीको १४औं महाधिवेशन सम्पन्न गरिसक्नुपर्ने अवस्था भए पनि कोरोना महामारीका कारण कार्यतालिका प्रभावित हुने भएपछि सोही विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाइएको नेपाली काँग्रेसले जनाएको छ ।

काँग्रेसले भदौ ७–१० का लागि १४ औं महाधिवेशनको मिति तोकेको भएपनि अहिलेसम्म कार्यतालिकाअनुसार काम भएको छैन । असार ५ गतेबाट वडा तहको अधिवेशन गर्ने कार्यतालिका भएपनि क्रियाशील सदस्यताकै विषय अन्तिम टुंगोमा पुग्न सकेको छैन ।

अहिलेसम्म क्रियाशील सदस्यताको टुंगो समेत नलागिसकेको अवस्थामा कार्यतालिका अनुसार महाधिवेशन गर्न कठिन देखिएको छ ।