राजनीति

स्वास्थ्यमा राजनीतिक दाउपेच : कोरोनाको भेरियन्ट भन्दा धेरै स्वास्थ्यमन्त्री फेरिए


काठमाडौँ – कोरोनामहामारी नियन्त्रणमा सरकारले प्रभावकारी कामगर्न नसकेको आक्षेपबीच महामारीकै अवधीमा ४ जना स्वास्थ्यमन्त्री फेरिएका छन् । यो अवधिमा फेरिएका कुनै पनि मन्त्री विवाद रहित हुन सकेका छैनन भने स्वास्थ्य जस्तो जिम्मेबार मन्त्रालय नेता व्यवस्थापनको थलो मात्रबनेको छ । फलत विषयविज्ञ व्यक्तिको नेतृत्व मन्त्रालयलमा सधै अभाव देखिन्छ ।

कोरोना महमारी नियन्त्रणमा उल्लेख्य कामगर्न नसकेको आरोप खेपेको वर्तमान सरकारमा यो अवधिमा ४ जना स्वास्थ्य मन्त्री फेरिएका छन् । कोरोनाको पहिलो लहरको प्रथम चरणमा स्वास्थ्यतथा जनसंख्या मन्त्रालयको जिम्मेबारी जसपाका उपेन्द्र यादवले सम्हालेका थिए । उनीविदेश भ्रमणमै रहेका बेला विना सल्लाह प्रधानमन्त्रीले कानुन मन्त्रालयको जिम्मेबारी दिएपछि स्वास्थ्यको जिम्मेबारी भानुभक्त ढकाललाई दिईएको थियो ।

मन्त्रालयमा भन्दा बढी समय विदेशमा नै बिताएका उपेन्द्रलाई त्यतिबेला हेवी वेट तर कमजोर प्रर्फमेन्सका मन्त्रीको ट्याग लागेको थियो । भानुभक्त ढकाल पनि स्वास्थ्यमा कमालगर्न सकेनन् । बरु देश महामारीमा फसेका बेला स्वास्थ्य सामग्रीखरिद प्रकरणले उनी विवादमा परे । त्यस पश्चात आएका हृदेश त्रिपाठीको पनि हालत उस्तै रह्यो । खोप खरिद प्रकरण बाहिर छताछुल्ल भए पनि प्रधानमन्त्रीको बक्र दृष्टिमा परेकाउनी अन्तत सोहि विवादको ट्याग सहित विदाभए ।

अहिले सो मन्त्रालय शेरबहादुर तामाङले सम्हालेका छन् । यसअघि कानुन मन्त्री भईसकेका तामाङले बंगलादेश चिकित्सा शिक्षा अध्ययन गर्न जानेहरुबारे विवादास्पद अभिव्यक्ति दिएपछि नैतिकताका आधारमा राजीनामा दिएका थिए । यसरी अहिले सबैभन्दा बढि जिम्मेबार वहन गर्नु पर्ने मन्त्रालयमै छोटो अवधीमै चार जनामन्त्री फेरिईसकेका छन् । अझ सबै कुनै न कुनै विवादमा परेका छन्भने विशेष विज्ञताका हिसाव समेत फरक क्षेत्रका हुन् । यो परिस्थितीलाई विपक्षीदलले भने सत्तालम्बाउन जे सुकै गर्न सक्ने प्रधानमन्त्री ओलीको चरित्रको उपज भएको संज्ञा दिएको छ ।

अहिले देशको सबैभन्दा ठूलो संकट भनेको कोरोना महामारी हो । दोश्रो लहरसँग जुधिरहेको नेपाललाई तेश्रो र आगामी लहरका लागि समेत तयारी गर्नुपर्ने छ । जसका लागि दुरदर्शी र विषय विज्ञको नेतृत्व खाँचो छ । तर तालुक मन्त्रालयको नेतृत्वमा भने कोरोनाको भेरियन्ट भन्दा धेरै मन्त्री फेरिने गरेका छन् । फलत स्वास्थ्य मन्त्रालय निकम्मा बन्दै गएको छ । यो प्रवृत्तिले महामारी नियन्त्रण र बिरामीको उपचारमानीतिगत र व्यवस्थापकीय असर पर्ने जानकारहरु बताउँछन । सत्ता समीकरण मिलाउन स्वास्थ्यजस्तो संवेदनशील विषयलाई राजनीतिक दाउपेचका रुपमा प्रयोग गरिनु विडम्बना हुने उनीहरुको भनाइ छ ।

यसअघि पनि प्रधानमन्त्रीको हुकुमी शैलीकै कारण मन्त्रालयहरुले स्वतन्त्र रुपमा काम गर्न नसकेको चर्चा हुदै आएको छ । जस्ले महामारी नियन्त्रणको लागि सिंगो जिम्मेबारी स्वास्थ्य मन्त्रालयलाई स्वतन्त्र रुपमा दिनुपर्ने देखिन्छ । त्यसमाथि पनि संकटको यो घडिमा समेत मन्त्रालय नेता व्यवस्था पनको केन्द्र बन्दा त्यसका परिणाम महामारी नियन्त्रणमा भएको प्रगति विवरणले देखाईसकेको छ । जसले सरकारको प्राथमिकता के हो छर्लङ भएको छ ।